सर्वोच्चको आदेश : 'पुरानो आदेश कार्यान्वयनको प्रगति ३० दिनभित्र बुझाउनू'
सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले हत्याको आरोप लागेका व्यक्तिलाई सभामुखको काम गर्न रोक्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश जारी गरेको हो ।
रिटको पक्षका कानून व्यवसायीको धेरै भएर बहस नसकिएपछि सोमबार हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो।
पक्षका तर्फबाट निवेदक तथा अधिवक्ता दिनेश त्रिपाठी, सुनीलकुमार पोखरेल, ओमप्रकाश अर्याल, राजु चापागाई, बाबुराम गिरी, विकास भट्टराई र अनन्त लुइँटेल लगायतले बहस गरेका थिए ।
सर्वोच्च अदालतले सिन्धुपाल्चोकका अर्जुन लामाको हत्या आरोप लागेका अग्नि सापकोटामाथिको अनुसन्धान र यसअघि सर्वोच्च अदालतले १५ /१५ दिनमा बुझाउन भनेको अनुसन्धान प्रतिवेदन बुझाउन गरेको आदेशको कार्यान्वयनबारे सर्वोच्चले सोधेको छ ।
"पूर्णिमाया लामाको जाहेरीबाट दर्ता भएको कर्तव्य ज्यान मुद्दामा प्रचलित कानूनबमोजिम अनुसन्धान जारी राखी रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रत्येक१५ दिनमा अनुसन्धान गर्दा कुनै प्रभाव दबाब वा असहयोग भएमा सो समेतको विवरणसहितको प्रतिवेदन सर्वोच्च अदालतमा पेश गर्ने गरी आदेश भएको सन्दर्भमा त्यसको कार्यान्वयनको स्थिति र हाल कर्तब्य ज्यान मुद्दा के कस्तो रहेको छ सोको प्रगतिको जानकारी यो आदेश भएको मितिले ३० दिनभित्र पेश गर्नू," आदेशमा भनिएको छ ।
निवेदक त्रिपाठीले यसले अब सापकोटामाथि अनुसन्धान गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।