गायिका आस्था राउत ४ हजार धरौटीमा छुटिन्
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार हजार रुपैयाँ धरौटी लिएर राउतलाई छाड्न आदेश दिएका हुन् ।
१ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा राउतविरुद्ध किटानी जाहेरी परेको थियो ।
जाहेरीपश्चात सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।
प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय मागे पनि प्रशासनले सोमबार प्रहरीलाई चार दिनको समय मात्र दिएको थियो ।
मंगलबार बिहानै सरकारी वकिल कार्यालयमा हाजिर गराएपछि उनलाई प्रशासनमा लगिएको थियो ।