एक महीनादेखि नाग्म–गमगढी सडक अवरुद्ध, सडक खुलाउन अझै एक साता लाग्ने
हिमाली जिल्ला मुगु जोड्ने नाग्म –गमगढी सडक खण्ड एक महीनादेखि बन्द भएको छ । गत १७ पुसमा कर्णालीमा दोस्रो पटक परेको बाक्लो हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध भएको हो ।
बाक्लो हिमपातले नाग्म–गमगढी सडक खण्डको भुलबुले–घुच्ची, सात मोड–झाड नाउलामा करीब ४ फिट हिउँ जमेपछि नाग्म–गमगढी सडक एक महीनादेखि बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
पहिलो पटक गत २८ मंसीरमा परेको हिमपातले पनि नाग्म–गमगढी सडक बन्द भएको र बन्द सडक एक सातापछि डोजर लगाई खुलाइएको भएपनि पुनः परेको हिउँले सडक बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले जानकारी गराए ।
उनका अनुसार एक महीनादेखि हिमपातले बन्द सडक खुलाउने प्रयासमा सडक डिभिजनले काम जारी राखेको छ । ५ दिनदेखि हिउँ पन्छाउन डोजर प्रयोग गरेका छौं, बाक्लो हिमपातले जमिन नछोडेपछि हिउँ पन्छाउन समस्या भएको छ । मौसममा सुधार आएमा र यस्तै कामको गतिमा डोजरले हिउँ पन्छाउँदै गएमा नाग्म–गमगढी सडक एक साता भित्र संचालनमा आउने प्रमुख भण्डारीले बताए ।
नाग्म–गमगढी सडक खण्डमा हिउँदमा हिमपातले र वर्षामा पानीले अवरुद्ध हुने गरेको छ । १ पुस, २०६९ मा मुगु सडक सञ्जालमा जोडिएको भएपनि हालसम्म सडकको स्तरोन्नति नहुँदा यो सडकखण्डमा वर्षको ४ महीना मात्र सवारी साधन चल्ने गरेका छन् ।
सडक खुलेको लामो समय भइसक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, पानीका नाला, ढल, कल्भड, व्यवस्थित नहुँदा हिउँदमा हिउँ र वर्षामा पानीले सडक बन्द हुने गरेको उद्योग वाणिज्य संघ मुगुका उपाध्यक्ष रत्नसिंह मल्ल बताउँछन् ।
वर्षको ८ महीनासम्म सडक बन्द हुँदा व्यापारीलाई व्यवसाय गर्नपनि समस्या हुने गरेको छ । उपभोक्ताले खोजेको सामान उपलब्ध गराउन व्यापारीलाई मुस्किल हुने गरेको छ । सडकको नाममा राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा परेका छन् ।
सडक बन्द हुँदा स्थानीय तहका विकास निर्माणका काम पनि प्रभावित भएका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या भएको र काम पनि अधुरै रहेका स्थानीय तहले बताएका छन् ।
त्यस्तै मुगु जिल्लाको खत्याड गाउँपालिका जोड्ने गोठीजिउला–कालाकाँडा–गम्था सडकखण्ड पनि अवरुद्ध भएको दुई महीना पुगिसक्दा पनि सरोकारवाला निकायहरू मौन रहँदा यो गाउँपालिकाका स्थानीय बजारहरू रातापानी, माझचौर, राउतडी, सेरी र पाँचेबजारमा दैनिक उपभोग्य तथा निर्माण सामग्रीहरूको अभाव बढ्दै गएको छ ।
यो खण्डमा बाख्लो हिउँ जमेर सडक अवरुद्ध भई यातायातका साधनहरू चल्न नसक्दा स्थानीय व्यापारी तथा सर्वसाधारणहरूले सास्ती भोग्दै आएका छन् ।
स्थानीय व्यापारी लोकराज दाहाल सडक अवरुद्ध भएको लामो समय हुँदा पनि सडक डिभिजन तथा गाउँपालिकाले सडक खुलाउन कुनै प्रयास नगर्दा आफूहरू मर्कामा परेको बताउँछन् ।
यो गाउँपालिकामा पनि जिल्लाका अन्य स्थानीय तहहरूझैं विकास निर्माणका काम शुरु हुन सकेका छैनन् । निर्माण सामग्रीहरू स्थानीय बजारमा उपलब्ध नहुँदा विकास निर्माणका कामहरू अवरुद्ध भएका हुन् ।
अच्युत राज भण्डारी, मुगु