सरकारलाई समर्थन गर्न रेशम चौधरी छुट्नुपर्ने राजपाको सर्त
राष्ट्रिय जनता पार्टी नेपालले तत्काल सरकारलाई समर्थन गर्न नसकिने बताएको छ । मंगलबार नवनिर्वाचित सभामुख अग्गिप्रपसाद सापकोटालाई बधाई तथा शुभकामना मन्तव्य दिँदै राजपा अध्यक्ष मण्डलका संयोजकसमेत रहेका सांसद महेन्द्रराय यादवले अहिलेकै अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने बताएका हुन् ।
संविधान संशोधनलगायत आफ्ना माग पूरा नभएसम्म सरकारमा जाने सम्भावना नरहेको उनले स्पष्ट पारे ।
उनले यो संविधानका राम्रा पक्ष संस्थागत गर्न र पूर्णता दिनुपर्ने बताए । "चुनावमा गरेका बाचाअनुसार संविधान संशोधन आवश्यक छ । सरकारले प्रक्रिया अघि बढाउनुपर्यो" यादवले भने, "राजपा माग र मुद्दाका लागि निर्माण भएको हो, सत्ताका लागि होइन ।"
आफू सरकारलाई समर्थन दिन तयार भएको तर त्यसका लागि सरकारले माग र मुद्दालाई पहिले संशोधन गर्नुपर्ने बताए । उनले सरकारलाई एक वर्ष समर्थन गरिसकेको स्मरण गराए । "सरकार कति दिनसम्म हाम्रो समर्थन चाहन्छ ?’ उनले भने, ‘तर जेलमा भएका मान्छे छुट्नुपर्यो । रेशम चौधरी छुट्नुपर्यो ।’
कहिल्यै समाजवादी त कहिले राजपालाई सरकारको लोभ देखाएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले मधेशी दलभित्र खेल्न खोजेको यादवले आरोपसमेत लगाए ।