होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने
होन्डाले बेलायतको प्लान्ट बन्द गर्नेकार निर्माता कम्पनी होन्डाले मंगलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना छ ।
इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको ‘सिभिक’ मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् ।
होण्डा कम्पनीका अनुसार, यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ ।
युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताए ।
गत वर्ष होन्डाका युरोपेली वरिष्ठ उपाध्यक्ष इयान हावेल्सले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने बताएका थिए । –रासस/एएफपी