संसदमा प्रधानमन्त्रीको सम्बोधन : 'केही धक्काका संकेतहरु मिलेका छन्, सावधानी पूर्वक सामना गर्नुपर्ने छ'
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । लामो समयपछि बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन ढिलो भए पनि सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताउँदै अब विलम्ब नगरी विकास र निर्माणका कार्यमा लाग्नुपर्ने बताए । उनले स्वस्थ प्रतिस्पर्धाबाट लोकतान्त्रिक उपलब्धिहरु अघि बढ्ने समय भएको धारणा राख्दै विविधता र बहुलता नेपालले छानेको व्यवस्था भएको बताए ।
ओलीले एमसीसी लगायतका विषयप्रति संकेत गर्दै भने, " अहिले विभिन्न चर्चामा रहेका विषय, हामीले गर्नुपर्ने काम र तत् समयमा नेपाल सरकारले गर्नुपर्ने कामहरु बारे छुट्टै समय लिएर राख्ने छु ।" उनले विभिन्न कानून र एमसीसी लगायत विषय पास गर्नुपर्ने आवश्यकता रहेको बताए ।
"नेपाल भ्रमण वर्षको रुपमा अघि सारेका छौं । सुरुमै केही धक्का संकेतहरु प्राविधिक हिसाबले देखा परको छन् । जसलाई सावधानीपूर्वक सामना गर्नुपर्नेछ", उनले भने, "सरकार त्यसको तयारीमा लागेको छ ।"
उनले यसलाई सावधानी पूर्वक सामना गर्नुपर्ने बताए पनि उक्त धक्का भनेको के हो भन्ने विषय भने खुलाएनन् ।