नेकपा केन्द्रीय कमिटीको बैठक सभागृहमा बस्ने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बुधबारबाट शुरु हुँदैछ । पार्टी एकीकरण पछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकको तयारी लगभग सकिएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।
उनका अनुसार, राजनीतिक तथा सांगठानिक प्रतिवेदन तयारी भइसकेको छ । बुधबार ११ बजे उद्घाटन हुने बैठकलाई अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
बैठकमा अध्यक्ष द्वयको राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलको सांगठानिक प्रतिवेदनमाथि छलफल हुनेछ । ४४५ सदस्यीय जम्बो केन्द्रीय कमिटी भएकाले राष्ट्रियसभामा बैठक बोलाइएको हो ।
बैठकमा सवै केन्द्रीय सदस्यले धारणा राख्न संभव नहुने भएपछि समूह निर्माण गरेर राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि छलफल हुनेछ । अहिलेसम्म समूह कसरी बनाउने भन्नेबारे भने निर्णय भइसकेको छैन ।
प्रदेश स्तरीय अथवा त्यो भन्दा सानो इकाइ निर्माण गरेर समूहगत छलफल हुने नेता श्रेष्ठले बताए । बैठक कम्तिमा एक हप्तासम्म चल्नेछ ।