कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो
चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १०६ बाट उकालो लागेको छ ।
यो भाइरसबाट सङ्क्रमित हुनेको संख्या चीनमा मात्रै चार हजार भन्दा बढी पुगेको छ भने विश्वभर ४४ सय बढीमा पुगेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।
पछिल्लो जानकारी अनुसार सिङ्गापुर र जर्मनीमा पनि यो भाइरसको संक्रमित देखिए पछि अन्तर्राष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या बढेको हो ।
कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि मुख्यगरी चीनको संक्रमित वुहान लगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । भाइरसले प्रकोप फैलाएपछि नयाँ वर्षको बिदा तीन दिन पर सारिएको छ ।
चीन सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा नगर्न सचेत गराएको छ । अमेरिकी सरकारले पनि आफ्ना नागरिकहरुलाई चीन यात्रा नगर्न भनेको छ ।
चीनले शङ्घाईमा आउँदो १० फेब्रुअरीसम्म कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । तर, चिकित्सा र स्वास्थ्य क्षेत्र भने अनिवार्य खुल्ने जनाइएको छ ।
कोरोना भाइरसका कारण चीन बाहिर कसैको पनि ज्यान गुमाएको छैन । तर, संक्रमण भने अमेरिका, थाइल्याण्ड, फ्रान्स, कोरिया र नेपालमा पनि देखिएको छ ।
नेपालमा १ जनामा मात्रै यसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिला तीन वटा संकास्पद केश मध्ये दुई जनामा यसको संक्रमण नभेटिएको पुष्टि भएको हो । यद्यपि सबैलाई सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।