मिडिया काउन्सिल विधेयक विधायन समितिले पारित गर्दै
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमबार मिडिया काउन्सिल विधेयक पारित गर्दैछ ।
यसअघि भएका छलफल र सुझावका आधारमा सोमबार बिहान बसेको बैठकमा सहमति भएर टुंगिएकाले आजै पारित हुन लागेको समितिका सदस्यहरुले बताए ।
विधेयकमा रहेको जरिवाना, क्षतिपूर्ति तथा सजायका व्यवस्था हटाउने तथा यसअघि आएका सुझाव अनुसार अन्य व्यवस्था पनि संशोधन गरेर पारित गर्न लागिएको समिति सदस्य उदया शर्माले जानकारी दिइन् । विधेयकमा ‘ऐन तत्काल लागु’ हुनेछ भनिएकोमा संशोधन गरेर ३१ दिनपछि लागू हुने भन्ने प्रावधान राखिएको उनको भनाइ छ ।
समितिका अर्का सदस्य प्रकाश पन्थले समितिले बनाएको प्रतिवेदन अध्ययनका लागि दिउँसो आफूहरुले केहीबेर समय मागेको र साढे ३ बजेको बैठकले संभवत पारित गर्ने बताए ।
विधेयकमा आमसञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था राखिएकोमा नेपाल पत्रकार महासंघलगायत सञ्चार क्षेत्रले विरोध गरेको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले उठाएका विषय कसरी सम्बोधन गरियो भन्ने पछिल्लो जानकारी नआएको बताए । उनले भने, “संशोधनसहित समितिले पारित गर्न लागेको जानकारी भने एक सांसद दिएका थिए, तर कसरी आउँदैछ भन्ने विस्तृत भने थाहा छैन ।”