शितल निवासभित्र नवनिर्वाचित सभामुखको सपथ : बाहिर मानवअधिकारवादीको प्रदर्शन
प्रनिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपालको संविधानमा रहेको व्यवस्थाअनुसार आज सोमबार बिहान नवनिर्वाचित सभामुखले राष्ट्रपति भण्डारीबाट सपथ लिएका हुन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रप्रसाद जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सापकोटा आइतबार सभामुखमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए ।
साथै शितल निवासभित्र नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सपथ लिइरहेका बेला बाहिर भने मानवअधिकारवादीहरू विरोध प्रदर्शन गरिरहेका थिए । प्रदर्शनमा सहभागी एक दर्जन बढी मानवअधिकारवादीलाई प्रहीले गिरफ्तार गरेको छ ।
आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी काभ्रेकी पूर्णिमाया लामालगायत १२ जना मानवअधिकारवादीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । उनीहरूले निषेधित क्षेत्र तोडेकाले पक्राउ गरिएको परिसरको भनाइ छ ।