ब्लग आइतबार, माघ १२, २०७६

नर्भिकका चिकित्सकको 'गम्भीर त्रुटि' प्रति असहमति

हिमालखबर

नर्भिकका चिकित्सकको 'गम्भीर त्रुटि' प्रति असहमति

 - डा. मधुर बस्नेत

१. यही मिति २०७६ माघ १० गते प्रकाशित "नर्भिक अस्पतालको गम्भीर त्रुटि, धन्न बाँचे नारायणकुमार" शीर्षकको रिपोर्टले केही भ्रम पैदा भएकाले रिपोर्टमै आधारित भएर केही प्रष्टीकरण दिने प्रयास गरेको छु :

रिपोर्टको शीर्षकमै "नर्भिक अस्पतालको गम्भीर त्रुटि" भनेर आरोप लगाइएको छ । तर यो आरोप पुष्टि गर्न केवल बिरामीको आफन्तको भनाइको सहारा लिइएको छ र एपोलो अस्पतालका न्युरोसर्जनले "अनफर्चुनेट" अर्थात् दुर्भाग्यपूर्ण भनेको कुरालाई आधार लिइएको छ ।

तर भिडियोमा सम्बन्धित सर्जन स्वयमले भनेका छन्: "कृपया तपाईं यो नबुझ्नुस कि यहाँ भएको उपचार ठीक थिएन भन्ने" र अझ अगाडि उनले भनेका छन् कि "शल्यक्रियाका क्रममा केही कारणले गर्दा यहाँका चिकित्सकले ट्युमर पूरै निकाल्न सकेनन् जुन दुर्भाग्यपूर्ण थियो" । यहाँ उनले "दुर्भाग्यपूर्ण" भनेर चिकित्सकलाई "दोष" दिएको भन्दा पनि "त्यो अवस्था दुर्भाग्यपूर्ण भयो" भन्ने हिसाबले भनेको प्रष्ट देखिन्छ ।

२. यहाँ उपचार ठीक भएन र उता ठीक भयो त्यसैले "यहाँ लापरवाही" भयो भन्न खोजिएको हो भने त्यो झनै "दुर्भाग्यपूर्ण" हुन्छ । किनकि "चिकित्सा उपचार"मा कुन उपचार उत्कृष्ट हो भन्ने निश्चित मापदण्ड भए पनि ती कुराहरु बिरामी, स्थान, समय, परिस्थिति आदि विविध कुराले समेत निर्धारण गर्छन ।

त्यसको निम्ति विशेषज्ञ टोलीले स्थापित मान्यता/मापदण्ड/विधि अनि बिरामीको अवस्था, चिकित्सकको योग्यता, उपलब्ध साधन स्रोत, उपलब्ध विकल्प, उपचारका क्रममा चिकित्सक अनि अस्पतालले अपनाएका विधि, प्रक्रिया आदि सबैको अध्ययन गरेर मात्र यसरी किटानीका साथ "गम्भीर त्रुटि"को आरोप लगाउन मिल्छ ।

३. डा. झाले दिएको सल्लाह र अन्य नेपाली चिकित्सक तथा एपोलोका चिकित्सकले दिएको सल्लाह बाझियो त्यसैले "गम्भीर त्रुटि" भयो भन्न खोजिएको हो भने त्यो पनि गलत हुन्छ किन कि फेरि यो कुराको पुष्टि "विशेषज्ञ टोली"ले सबै कुरा अध्ययन गरेर मात्र भन्न सक्छ ।

रिपोर्टको असर

१. यसरी प्रक्रिया पुर्‍याएर "विशेषज्ञ टोली"ले गरेको अध्ययन विना "गम्भीर त्रुटि" भनेर किटानी गरिदिँदा सम्बन्धित चिकित्सकले जिन्दगीभर कर्म गरेर कमाएको नाम/इज्जतमा अपूरणीय असर पर्न सक्छ । (एकै दिनमा ४३ सय बढी शेयर भएको यो समाचार अनि सामाजिक संजालमा आएका प्रतिक्रिया हेरेरै कति असर परेको छ आंकलन गर्न सकिन्छ ।)

२. यस्तो समाचारले नेपाली चिकित्सकहरुमाथि बढ्दै गएको अविश्वास अझै बढाउन सक्छ । जसले अस्पताल अनि चिकित्सकमाथि हुने दुर्व्यवहार बढ्न सक्छ । यसको असर अन्तत: पर्ने भनेको बिरामीलाई नै हो किनकि कुनै पनि चिकित्सकले "भयभीत" वातावरणमा उचित काम गर्न सक्दैनन् न त "क्याल्कुलेटेड रिस्क" लिएर गम्भीर बिरामीको उपचार गर्न नै |

३. यही अविश्वासले गर्दा हुनेखाने मात्र होइन हुँदा खाने नेपाली बिरामीहरु समेत आज  सामान्य समस्याको निम्ति समेत विदेश/भारत जाने क्रम ह्वात्तै बढेको छ ।

के गर्दा उचित हुन्थ्यो?

१. सबैभन्दा पहिला यस्ता घटना घट्दा "पीडित"ले प्रक्रिया पुर्‍याएर सम्बन्धित निकायमा उजूरी दिनुपर्थ्याे।

२. यदि "शक्तिको दुरुपयोग" भएर यस्ता उजूरीउपर कारवाही नभएमा यहाँको जस्तो मिडियाले त्यस्ता "पीडित"को निम्ति आवाज बनिदिन सक्छ ।

त्यसैले 'हिमाल' जस्तो विश्वसनीय एवं लोकप्रिय संचार माध्यमले भविष्यमा यस्ता समाचार प्रकाशन गर्दा यी कुराहरुमा गम्भीर विचार पुर्‍याउनुहुनेछ भन्ने पूर्ण आशा र विश्वासका साथ यो प्रतिक्रिया पठाएको छु । साथै सम्बन्धित बिरामीको दीर्घ एवं पूर्ण स्वास्थ्यलाभको समेत कामना गर्दछु ।

(स्वार्थको टकरावको घोषणा: रिपोर्टमा उल्लिखित घटना, संलग्न व्यक्ति/संस्था कसैसँग पनि मेरो कुनै संलग्नता/स्वार्थ नरहेको जानकारी गराउन चाहन्छु) ।

- डा. बस्नेत, सहप्राध्यापक, बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ।

(नारायणकुमार श्रेष्ठ उपचार सम्बन्धी रिपोर्टिङ, प्रक्रिया र समाचारको निष्कर्षप्रति हामी विश्वस्त छौं: सम्पादक ।)

 

प्रतिकृया दिनुहोस