राैतहटकाे गरुडामा छोरीको बीमा रकम दोब्बर
प्रदेश २ सरकारले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत छोरीको बीमा गरिने कार्यक्रम संचालन गरिरहेकोमा रौतहटको एउटा नगरपालिकामा बीमाको रकम दोब्बर हुने भएको छ ।
रौतहटको गरुडा नगरपालिकामा आयोजित तीन दिवसीय छोरी शिक्षा बीमा मुद्दती बचत खाता कार्यक्रमको पहिलो दिन नगर प्रमुख इन्नु राय यादवले गरुडा नगरपालिकामा बीमाको रकम दोब्बर हुने घोषणा गरेका छन् ।
तीन दिनसम्म चल्ने शिविरमा बीमा गरिने छोरीको रकममा प्रदेश सरकारले दिएको रकम बराबर नगरपालिकाले पनि थप गरी छोरीको खातामा दोब्बर रकम जम्मा हुने मेयर यादवले बताएका छन् ।
प्रदेशमा महिलाको अवस्थामा सुधार र छोरीको शिक्षामा व्यापक सुधार हुने अपेक्षासहित शुरु गरेको महत्वाकांक्षी योजना मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानलाई अझ सशक्त बनाउन घरदैलोमै बीमा गरिने सुविधा थपेको छ । यस अन्तर्गत गरुडा नगरपालिकाका तीन ठाउँमा तीन दिन बीमा गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रमको पहिलो दिन गरुडामा बीमा गराउनेको भीड रहेको छ । नगरमा करीब पाँच सयजना छोरीको बीमा हुने पूर्वानुमान गरिएको वडा नम्बर ५ का वडाध्यक्ष अशोकप्रसाद यादवले जानकारी गराएका छन् । बीमा रकम दोब्बर हुने भएपछि अवधि समाप्त हुँदा बिमित छोरीले कम्तीमा दुई लाख रुपैयाँ पाउने छन् ।
प्रदेश सरकारको कार्यक्रममा नगरपालिकाको तर्फबाट त्यत्तिकै रकम थप भएपछि बीमा कार्यक्रम थप प्रभावकारी हुने उपमेयर रंगीलादेवी जयसवालले बताएकी छन् ।
–सञ्जय मित्र, रौतहट