‘महिला महासंघ’ बनाउन तदर्थ समिति गठन
महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुको छाता संगठनका रुपमा महिला महासंघ गठन गरिने भएको छ ।
अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था तथा नेटवर्कका प्रतिनिधिहरुको आइतबार बसेको तयारी बैठकले महासंघ चाँडै गठन गर्ने गरी तदर्थ समिति गठन गरी कार्यविभाजन गरेको हो ।
अहिले महिलासँग सम्बन्धित भएर विषयगत क्षेत्रमा काम गर्न संस्थाहरुको छुट्टाछुट्टै भए पनि अब भने महासंघ नै गठनका लागि तयारीमा लागिएको संकल्पकी अध्यक्ष लिली थापाले बताइन् । थापा भन्छिन्, “महिलाको विविध सवाल र क्षेत्रमा सामुहिक आवाज उठाउँदा अझ प्रभावकारी हुने भएकाले महासंघ गठन गर्न लागिएको हो ।
अधिकारकर्मीहरु प्रा.डा.शशी अधिकारी, डा.अनिता श्रेष्ठ, यशूकान्त भट्टचन, इरादा गौतम, कला स्वर्णकार, बेनुमाया गुरुङ, इन्दिरा घलेलगायतले जनजाति, दलित सवालमा महासंघ गठन भए जस्तै महिलाको महासंघ गठन गर्न आवश्यक रहेको बताए ।
देशभर महिलासँग सम्बन्धित भएर काम गर्ने तथा महिलाले नेतृत्व गरेको गैरसरकारी संस्थाहरुको संख्या ३० हजारभन्दा बढी भए पनि छरिएर काम भइरहेकाले महासंघ भए कामको प्रभावकारिता बढी हुने अधिकारकर्मीहरुको भनाइ छ ।
हाल महिला सवालमा काम गर्ने गैरसरकारी संघसंस्थाहरुको राष्ट्रिय संजालका रुपमा महिला सुरक्षा दबाब समूह, शान्ति न्याय र लोकतन्त्रका लागि महिला सञ्जाल –संकल्प, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, मानवअधिकारका लागि महिला एकल महिला समूह, बियोण्ड बेइजिङ कमिटी, जनजाति महिला महासंघ, चेलीबेटी बेचबिखन विरुद्ध कार्यरत संस्थाहरुको नेटवर्क (एट्वीन), शान्ति मालिकालगायत रहेका छन् ।
महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था तथा नेटवर्कहरु सबैलाई समेटेर चाँडै नै तदर्थ समिति विस्तार गरिने र काठमाडौंका साथै प्रदेश स्तरहरुमा छलफल र समन्वय गर्दै जाने भएको छ ।
महासंघ गठनको संयोजन संकल्पले गरिरहेको छ ।