सुविधा नबढाए गढीमाईका वडा सदस्यहरूले आन्दोलन गर्ने
रौतहटको गढीमाई नगरपालिकाका वडा सदस्यहरूले बजेट र सुविधा नबढाए आन्दोलन गर्ने निर्णय गरेका छन् ।
वडा सदस्यहरूको भेलाले नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले नगरपालिकाबाट अनेक सुविधा लिइरहेको भन्दै सबै किसिमको सुविधा र बजेटमा आफ्नो पनि पहुँच हुनुपर्ने माग गर्ने निर्णय गरेको छ । वडा सदस्यहरूको माग पूरा नभए आन्दोलन गर्ने निर्णय पनि गरेका हुन् ।
नगर प्रमुख र कार्यालय प्रमुखहरूसित नगरपालिकाद्वारा अहिलेसम्म गरिएको सम्पूर्ण खर्चको हिसाब–किताब वडा सदस्यसमक्ष पेश गरिनुपर्ने, नगरपालिकाबाट वडामा जाने सम्पूर्ण बजेटको ४० प्रतिशत दिनुपर्ने तथा बाँकी ६० प्रतिशत बजेटमध्ये चारजना वडा सदस्यले बराबरी बाँडेर वडामा विकास गर्नुपर्ने माग गरेका छन् ।
यसैगरी वडामा आएको बजेटको खर्च वडा सदस्यहरूको हस्ताक्षर हुनुपर्ने, हरेक वडा सदस्यलाई एक–एक थान हिरो स्पेलेन्डर बाइक, त्यसका लागि हरेक महीना २० लिटर पेट्रोल, अतिथि सत्कारका लागि मासिक २० हजार रुपैयाँ कार्यपालिकासित माग गर्ने र त्यसका लागि नियम बनाउने माग गर्ने निर्णय गर्दै ७ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने निर्णय गरेका छन् ।
वडा सदस्यहरूको भेलाले नेवालाल राउतको अगुवाइमा निर्णय कार्यान्वयनका लागि एउटा समिति समेत गठन गरेको छ । १२ माघ आइतबारका दिन बिहान ११ बजे नगरपालिकामा सबै मागको ज्ञापनपत्र बुझाउने वडा सदस्य कुमारसानु साहले जानकारी गराएका छन् ।
विकास बजेटमा अगुवाइ गर्ने विषयमा छलफल गर्न सकिने तर व्यक्तिगत सुविधा र सवारी साधनको विषय तथा मासिक रकमको विषयमा कुनै पनि हालतमा केही गर्न नसकिने नगर प्रमुख श्यामप्रसाद यादवले प्रतिक्रिया दिएका छन् ।
सञ्जय मित्र, रौतहट