‘नेपाली प्रवासनः नियति र रहर’ सार्वजनिक
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष एवं समाजशास्त्री डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि राज्यको लगानी शून्य रहेको बताएका छन् ।
कुल गार्हस्थ उत्पादनमा वैदेशिक रेमिटेन्सको ४० प्रतिशतभन्दा बढी योगदान रहेको तर श्रम मन्त्रालयलाई राज्यले कूल बजेटको २ प्रतिशत रकम पनि नछुट्याएको उनले बताए ।
पत्रकार डम्बरकृष्ण श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली प्रवासनः नियति र रहर’ विमोचन गरिएको छ ।
ललितपुरको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा डा. गणेश गुरुङ, राजेन्द्र दाहाल, किरण नेपाल र सरु जोशी श्रेष्ठले पुस्तक विमोचन गरे ।
शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले २० वर्षको नेपाली प्रवासनको सांगोपांगो स्वरुप यस किताबमा पढ्न पाइने बताए ।
हिमालका सम्पादक किरण नेपालले लेखक श्रेष्ठ पूर्व सहकर्मी भएको स्मरण गर्दै उनले रोजगारीका विषयमा गहन र प्रभावकारी रिपोर्टिङ गरेको बताए ।
प्रवाशन विज्ञ सरु जोशी श्रेष्ठले वैदेशिक रोजगारीमा जाने महिलालाई राज्यले हेर्ने दृष्टिकोण अहिले पनि संकुचित रहेको बताइन् ।
लेखक श्रेष्ठले आफू पनि अहिले प्रवासनमै रहेकाले उनीहरुको दुःख नजिकबाट अनुभूति गरेको बताए ।उनले २०५७ देखि २०७२ सम्म हिमालमा लेखेका ४१ वटा
रिपोर्टलाई पुस्तकमा समावेश गरेका छन् । हिमाल किताबले प्रकाशन गरेको पुस्तकको मूल्य रु.३९० छ।