नेपालमा पनि कोरोनाभाइरसको संक्रमण भेटियो
नेपालमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । शुक्रवार साँझ स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिएका हुन् ।
केही दिनअघि चीनको वुहानबाट फर्किएका एक युवामा कोरोनाभाइरसको संक्रमण भेटिएको आशंका गरिएको थियो । चीनबाट फर्किएपछि बिरामी भएका ती युवामा देखिएका लक्षणले शंका लागेपछि शुक्रराज सरुवा रोग अस्पताल टेकुले उनको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो ।
विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङ पठाइएको रगतको उक्त नमूना परीक्षणबाट नेपाली युवक कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको हो ।
कोरोनाको संक्रमण भएका विरामीलाई अहिले चिकित्सकको उच्च निगरानीमा राखेर उपचार गरिँदैछ । शुक्रवार अन्य तीनजना शंकास्पद बिरामीसमेत टेकु अस्पताल पुगेको जानकारी आएको छ । कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले चीनसहितका चार मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राख्न सुरु गरिसकेको छ ।
कोरोनाभाइरसले मानिसलाई सामान्य रुघाखोकीदेखि सुरु भएर ज्यानै लिनसक्ने सम्मको खतरा हुन्छ । चीनमा यो तीव्र रुपमा फैलिन थालेको छ भने जापान र अमेरिकामा पनि एक-एकजनामा संक्रमण भेटिएको छ ।