समाचार शुक्रबार, माघ १०, २०७६

पत्रकार सुरक्षा कोष बनाउँदै प्रदेश–१ सरकार

कमल रिमाल

पत्रकार सुरक्षा कोष बनाउँदै प्रदेश–१ सरकार
सुझाव संकलनमा सहभागीहरू ।

प्रदेश १ सरकारले पत्रकार सुरक्षा कोष स्थापनाको तयारी गरेको छ । कामबाट निकालिएका, बिरामी परेका तथा दुर्घटनामा परेका पत्रकारलाई सहयोग गर्न प्रदेश सरकारले कोषका लागि रकम पनि छुट्याएको छ ।

कोष संचालन तथा व्यवस्थापन कार्यविधि निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुझाव संकलन थालेको छ ।

शुक्रबार मन्त्रालयमा श्रमजीवी पत्रकार र संचारगृह संचालकहरूसँग अलग अलग सुझाव लिइयो । दुर्घटनामा परेका, गम्भीर रोग लागेका र मृत्यु भएका परिवारलाई अधिकतम रु ५ लाखसम्म दिइनु पर्ने संचारकर्मीले सुझाव दिएका छन् ।

आर्थिक सहायता गर्नुपर्ने पत्रकारलाई ऊ आबद्ध संचार माध्यम, पत्रकार महासंघ, चिकित्सक र स्थानीयतहले सिफारिस गर्नुपर्ने प्रावधान छ । कुनै पनि संचारगृहमा १ वर्ष काम गरेका पत्रकारलाई पेशाबाट निकालिए कोष र सोही संचारगृहले अर्को काम नपाउन्जेल सहयोग गर्नुपर्ने कार्यविधिले समेटेको छ ।

प्रदेशस्तरको संचार प्राधिकरण स्थापना गरी संचारमाध्यममा जाने विज्ञापन बापत केही प्रतिशत रकम कोषमा जम्मा गरिनुपर्ने पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बताए । मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाका अनुसार, कोष संचालनको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।

 

प्रतिकृया दिनुहोस