रारा संरक्षणका लागि पानी परियोजनाका विभिन्न याेजना
नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा रहेको जैविक विविधता संरक्षणका लागि पानी परियोजनाले काम गर्ने भएको छ ।
रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाइराख्न जैविक विविधताको संरक्षण नै पहिलो भएकाले पानी परियोजनाले त्यसप्रति ध्यान दिई कार्यक्रम अगाडि बढाएको हो ।
कार्यक्रम अन्तर्गत रारा खत्याड जलाधार क्षेत्र नामकरण गरी रारा ताल आसपासमा पर्ने छायाँनाथ रारा नगरपालिका–९ मुर्मा गाउँ र खत्याड गाउँपालिका–१ र २ मा पानी परियोजनाले जैविक विविधता संरक्षणका लागि विभिन्न कार्यक्रम गर्ने छ ।
जसमा चोरी शिकारी दल गठन, नेचर गाइड ट्रेनिङ, रारा आसपासमा हुने फोहोर व्यवस्थापन, सुकेका मूलहरूको उत्खनन् गरी सुचारु गर्ने लगायत कार्यक्रम गरी जैविक विविधता संवद्र्धन र फोहोर व्यवस्थापनमा काम गर्ने पानी परियोजनाले जनाएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै रारा राष्ट्रिय निकुञ्ज मुगुका संरक्षण अधिकृत लालबहादुर भण्डारीले राराको सुन्दरता बचाइराख्न पानी परियोजनाले शुरु गर्न लागेको कार्यक्रम महत्वपूर्ण भएकाले कार्यान्वयन गर्न सबैको साथ अपरिहार्य रहेको बताए ।
रारा आउने पर्यटकको सख्या पछिल्लो समय बढ्दै गएकाले रारामा फोहोर व्यवस्थापनमा ध्यान नदिइए राराको अस्तित्व संकटमा पर्ने देखिन्छ । त्यसैले समयमा सचेत हुन जरुरी रहेकाले यसमा पानी परियोजना मात्र नभई विभिन्न निकायले सहकार्यका साथ काम गर्नुपर्नेमा अधिकृत भण्डारीको भनाइ छ ।
यता छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले राराको फोहोर व्यवस्थापनका लागि नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको बताए ।
राराको जलाधार संरक्षण र फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घोडाको दिसा संकलन गर्ने झोला, डस्बिन लगायतको व्यवस्था गर्नेछ । नगरपालिकाका अनुसार पानी परियोजनसँग छायाँनाथ रारा नगरपालिकाले आवश्यक सहकार्य गरी जैविक विविधता संवद्र्धन गरी राराको ठोस फोहोर वस्तु व्यवस्थापन गर्न सहकार्य गर्ने नगर प्रमुख शाहीले बताए ।
कार्यक्रम ११ महीनासम्म सञ्चालन हुनेछ । यूएसआईडी पानी परियोजनाको सहयोगमा र कर्णाली सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुको समन्वयमा कार्यक्रम सञ्चालन गरिने कर्णाली सामुदाायिक विकास केन्द्र मुगुका संयोजक हरिबहादुर शाहीले बताए ।
अच्युत राज भण्डारी