रिपोर्ट शुक्रबार, माघ १०, २०७६

सडकले देखाएको संसार

हिमालखबर

सडकले देखाएको संसार
नेपाल–चीन सीमाको कोरला पासबाट दक्षिणतिर हेर्दा देखिएको अन्नपूर्ण र नीलगिरि हिमाल । तस्वीरहरुः घनश्याम गुरुङ
डा. घनश्याम गुरुङ

सडक सञ्जालले मुस्ताङलाई बाहिरी संसारसँग परिचित मात्र गराएन, श्रमिकलाई काम, विद्यार्थीलाई स्कूल र बिरामीलाई अस्पतालसम्म पुर्‍यायो। तर, यहीवेला जिल्लावासी आफ्नो सम्पदा जोगाउन सबैभन्दा गम्भीर हुनुपर्ने भएको छ।

माथिल्लो मुस्ताङको मेरो गाउँ धीतिर जाने नागबेली सडकको उकालो लाग्ने बित्तिकै म यी पहाडहरूसँगको सान्निध्य र बाल्यकाल सम्झ्न्छिु । त्यसवेला जीवन दुरुह थियो । अहिलेको जस्तो सुविधा कहाँ हुनु !

म एसएलसी परीक्षा दिन धीबाट ११ दिन हिंडेर पोखरा पुगेको थिएँ । त्यहाँ मोटरगाडी देखेर अचम्म लाग्यो । मुस्ताङमा त हामीले धेरैजसो हेलिकप्टर मात्र देख्थ्यौं ।

त्यसवेला लोमान्थाङभरिमा एउटा मात्र प्राथमिक विद्यालय थियो र त्यही पनि ६ घन्टा टाढा । जोमसोममा भएको एउटै मात्र माध्यमिक विद्यालय पुग्न तीन दिन लाग्थ्यो ।

छराङ गाउँबाट पूर्व दामोदरकुण्डतिर हेर्दा ।

सन् १९७६ ताका म तत्कालीन मुस्ताङी राजाका सचिव चन्द्रबहादुर थकालीको जोमसोमस्थित घरमा एक महीना बसेको थिएँ । घरभाडा वापत रु.३१० तिरेको सम्झन्छु । त्यसवेलामा हलक्क बढेको भेडाको मूल्य त्यत्ति नै पर्थ्याे। मुस्ताङ निषेधित क्षेत्र जस्तै थियो । बाहिरका मानिस विरलै थिए । आज त्यहाँ पश्चिमी देशका पदयात्रीहरू छन् । लोमान्थाङदेखि जोमसोम जोड्ने मोटरेवल सडकमा मोटरसाइकलमा कुदिरहेका नेपालीहरू भेटिन्छन् ।

आजको मुस्ताङमा सबैभन्दा ठूलो परिवर्तन सडक हो । पोखराबाट ११ दिन लाग्ने त्यो पैदलयात्रा अब एकै दिनमा गर्न सकिने भएको छ । सडक असुरक्षित होला तर स्थानीयका लागि नयाँ जीवनरेखा बनेको छ । यसबाहेक दैनिक आवश्यकताहरूमा पनि आधुनिकता थपिएको छ, जुन पहिले नभए पनि जसोतसो चलेकै थियो ।

 सडककै कारण पर्यटन पनि बढेको छ । बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक धेरै भेटिन्छन् । परिणाम, निर्वाहमुखी कृषि र पशुपालन व्यवसायलाई व्यापारले प्रतिस्थापन गरेको छ । सडकले मुस्ताङको प्राचीन संस्कृति, अनुपम सुन्दरता र संवेदनशील पर्यावरणलाई बाह्य संसारसँग जोडेको छ ।

बाहिरी संसारसँगको पहुँचले स्वास्थ्य सुविधा अद्यावधिक गर्न, शिक्षा सुधार गर्न मद्दत गरेको छ । प्राथमिक स्वास्थ्य सेवामा पहुँच र ज्ञान नहुँदा परम्परागत तवरले उपचार गर्ने व्यक्ति आम्चीमा निर्भर स्थानीयले आधुनिक औषधिमूलो पाएका छन् । धेरै स्वास्थ्य सूचकहरूमा सुधार भएको छ ।

मैले ५० वर्षअघि बुद्धधर्मको अध्ययन शुरु गरेको ठाउँ ताङ ताङ फू गुफाबाट तलतिर झर्दै गरेको एउटा टोली ।

जस्तो कि, मुस्ताङको बाल्यकालीन जीवनमा खाना सहजै पाइँदैनथ्यो । मानिस, खच्चड, घोडा र कहिलेकाहीं बाख्राले एक हप्तासम्म लगाएर बोकेर अन्न पुर्‍याउँथे । यसरी गाउँ पुगेको अन्न स्वाभाविक रूपमा महँगो हुन्थ्यो । सबैले किनेर खान सक्दैनथे ।

त्यसवेला हामी स्थानीय पोषिलो उत्पादन फापर, सिमी, बोडी, गहुँ, आलु, जौ खान्थ्यौं तर सडकले प्रशोधन गरेर प्याकेटमा राखिएका खाद्यवस्तु पनि घरघर ल्याइदिएको छ । यति भन्दाभन्दै पनि सडकले खाद्य सुरक्षा, अन्न तथा अन्य आवश्यक सामग्रीको लागतमा कमी ल्याएको छ । अर्को ठूलो परिवर्तन त शिक्षामा भएको छ ।

त्यसो त गाउँमा पहिले जति पनि विद्यालय छैनन्, सबै बन्द भएका छन् । तर, स्थानीयको आय बढेकाले उनीहरूले आफ्ना सन्तान पढाउन जोमसोम, पोखरा र काठमाडौंसम्म पनि पठाउन थालेका छन् । तैपनि शिक्षा र फराकिलो संसारको सम्पर्कले मुस्ताङका युवामा आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको महत्व बारे गहन जानकारी छ ।

यसबाहेक मुस्ताङको अद्वितीय सांस्कृतिक सम्पदा र अद्भुत प्राकृतिक सौन्दर्यको अवलोकन र अनुभव गर्न आउने पर्यटकसँगको अन्तरसंवादले पनि स्थानीयलाई फाइदा पुगेको छ । यसबाट स्थानीयलाई आफ्नो संस्कृति र सम्पदाको मूल्यका साथै मौलिक जीवनपद्धति जोगाइराख्नुपर्छ भन्ने महसूस गराएको छ ।

उत्तरतर्फबाट हेर्दा सुम्दी छोर्तेन ।

विकासको पनि आफ्नै ‘मोल’ हुन्छ । सडक पुगेसँगै यस क्षेत्रको पर्यावरणमा दबाब पनि उत्पन्न भएको छ । जथाभावी सडक निर्माणले पहिरो, भूस्खलनसँगै नदीमा बालुवा थपेको छ । ढल निकास अवरुद्ध भएको छ, पानीका मुहान सुक्दै गएका छन् । जलवायु परिवर्तनको असरलाई तीव्र बनाएको छ ।

कालीगण्डकी करिडोर हुँदै चीनको सीमा कोराला जोड्ने बाटो सुधार भएपछि यहाँको सडकमा यातायातको चाप ह्वात्तै बढ्नेछ । त्यसैले पनि यसबाट हुने वातावरणीय असरको अध्ययन, दिगो विकास र हरित पूर्वाधारको योजना तत्काल बनाउनुपर्ने देखिन्छ ।

जलवायु परिवर्तनले गाउँमा वर्षा र हिमपातको चक्र पनि खल्बल्याएको छ ।  यसको सकारात्मक प्रभाव पनि पारेको छ । चिसोका कारण ढिलो बढ्ने काँक्रो, गोलभेंडा र तरकारीहरू अहिले प्रशस्त हुन थालेको छ । मुस्ताङी स्याउ बगैंचामा नै लगाएर फलाउन सकिने भएको छ ।

पहिलेको निषेधित क्षेत्र मुस्ताङ अहिले खुला चौर जस्तो भएको छ । खुलापनको हावाले विकास मात्र होइन, विकारलाई पनि भित्याउने गर्छ । यो चेतसहित मुस्ताङी नागरिकले प्रकृति र सांस्कृतिक धरोहरको संरक्षण गर्दै सन्तुलित विकासमा गम्भीर हुनुपर्छ । र, भावी पुस्तालाई नबिथोलिएको, नगिजोलिएको सभ्यता सहितको सुन्दर मुस्ताङ हस्तान्तरण गर्नुपर्छ ।

(गुरुङ विश्व वन्यजन्तु कोष– डब्लुडब्लुएफ नेपालका प्रमुख हुन्।)

 

 

प्रतिकृया दिनुहोस