शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा ३ जना पक्राउ
राहत शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा डुङ्गेश्वर गाउँपालिका–५ मा रहेको पिपलचौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
आयोगले ९ माघ, २०७६ प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष शाहीसहित शिक्षक पदमा छनोट भएका घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समिति संयोजक शाहीले निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषय शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता गरेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।
आयोगको सुर्खेत स्थित कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिकाबाट गरिएको शिक्षक छनोट परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरूलाई म्यासेन्जर मार्फत प्रश्नपत्र तथा उत्तर कुञ्जिका पठाई शिक्षक छनोट गरेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट अनुसन्धान हुँदा अख्तियार दुरुपयोग गरेको खुल्न आएको हुँदा नियन्त्रणमा लिई अनुसन्धानका लागि राखिएको उल्लेख छ ।
यज्ञराज थापा\दैलेख