ऐतिहासिक सिम्रौनगढको पुरातात्विक अध्ययन शुरु
बाराको ऐतिहासिक सिम्रौनगढको पुरातात्विक अध्ययन शुरु गरिएको छ ।
बेलायतको दुर्हम विश्वविद्यालयको टोलीले सिम्रौनगढको पहिलोचोटि वैज्ञानिक किसिमले भू–भौतिकी सर्वेक्षण गरी पुरातात्विक अध्ययन शुरु गरिएको हो।
जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायताले बेलायतको दुर्हम विश्वविद्यालयका रिची विलिस र एलिक नेलोरको संयुक्त टोलीले सिम्रौनगढको पुरातात्विक अध्ययन गरेको हो ।
यसअघि दुवैजनाको टोलीले रौतहटको मौलापुर नगरपालिकाको पतौरामा रहेको प्राचीन भूतनाथ महादेव मन्दिरको पुरातात्विक सर्वेक्षण गरेको थियो ।
सन् १०९७ मा भारतको कनाटका सेनापति नान्यदेवले विजय अभियान उत्तरतिर चलाउँदै जाँदा सिम्रौनगढमा राजधानी बनाएर डोयराज्यको स्थापना गरेका थिए । सन् १३२४ मा दिल्लीका बादशाह गयासुद्दिन तुगलकको आक्रमणमा ध्वस्त भएको सिम्रौनगढको इतिहासको बारेमा धेरै कुरा अज्ञात छ ।
कतिपयले सिम्रौनगढमा राजधानी बनाउनुअघि नै यस क्षेत्रमा प्राचीन समृद्ध बस्ती रहेको अनुमान गरेका छन् । बेलायती टोलीले सिम्रौनगढको भू–भौतिकी सर्वेक्षण भएपछि केही महीनामा सिम्रौनगढको इतिहासको बारेमा थप जानकारी आउने विश्वास गरिएको छ ।
गत २७ वर्षमा पहिलोचोटि भू–भौतिकी सर्वेक्षण गरिएको सिम्रौनगढको बारेमा अध्ययन गरिरहेका स्थानीय डीके सिंहले बताएका छन् । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादवसहित स्थानीय संघसंस्थाले टोलीलाई सहयोग गरेका छन् ।
बेलायती टोलीको अध्ययनले डोयराज्यका राजाको महलको अवशेष जमिनमुनि देखिएको, जमिनमुनि नै विभिन्न पर्खाल देखिएको सिंहले बताएका छन् । एक्सरे मेसिनले जमिनमुनिको फोटो खिचेको र केही महीनामा वास्तविक तथ्य बाहिर आउने विश्वास व्यक्त गरिएको सिंहले जानकारी गराएका छन् ।
सञ्जय मित्र, रौतहट