सयौं पर्यटक र भरिया बचाएको खुम्बूका क्लिनिक बन्द गर्न निर्देशन, जाली उद्धारकर्ताको षडयन्त्रको आशंका
सयौं ट्रेकिङ पर्यटक र भरियाको जीवन बचाएका खुम्बू क्षेत्रका दुईवटा माउन्टेन मेडिसिन क्लिनिकलाई भर्खरै खुलेको एक निजी व्यापारिक क्लिनिकको दबाबमा स्थानीय सरकारले बन्द गर्न निर्देशन दिएको छ।
ती क्लिनिकहरु गोक्यो ट्रेकिङ रुटअन्तर्गत ४५०० मिटरमाथि माछेर्मो गाउँमा माउन्टेन मेडिसिन सोसाइटी अफ नेपालको सहयोगमा अन्तर्राष्ट्रिय भरिया संरक्षण समूह (आईपीपीजी) र कम्युनिटी एक्सन नेपाल (क्यान) द्वारा सञ्चालित थिए ।
शेल्टर र उद्धार केन्द्रहरुले भरिया र स्थानीयका लागि निशुल्क हेरचाहको व्यवस्था गरेका थिए । जुन माउन्टेन सिकनेस (हिमाल चढ्दा हुने बिरामी) हुँदा ट्रेकरबाट उठेको शुल्कबाट खुलेका थिए ।
तर सन् २०१९ को अक्टाेबरतिर खुलेको एउटा प्राइभेट क्लिनिकले पदयात्री पर्यटकहरुलाई हेलिकप्टरबाट सीधै काठमाडौं ल्याएर उपचार गराउन शुरु गर्यो र खुम्बू पासाङल्हामु गाउँपालिकालाई आईपीपीजीसँगको सहमतिलाई तोड्न दबाब दिन थाल्यो ।
"त्यो क्लिनिकको ब्यापारको मोडलनै नक्कली चेकजाँच गराएर पदयात्री पर्यटकहरुलाई उपचारका लागि काठमाडौंका अस्पतालमा रिफर गर्ने थियो," बेलायतको च्यारिटी संस्था आईपीपीजीका अध्यक्ष निक मेसनले उल्लेख गरेका छन् ।
गोक्योमा रहेका केही स्वयंसेवी चिकित्सकहरुका अनुसार नयाँ खुलेको क्लिनिकले ५० प्रतिशतभन्दा बढी बिरामीलाई हेलिकप्टर कम्पनीको समेत लगानी रहेका काठमाडौंका अस्पतालमा रिफर गर्ने गरेको छ । जबकि आईपीपीजीले ५ प्रतिशत बिरामीलाई मात्रै हेलिकप्टर मार्फत काठमाडौं लैजान रिफर गर्ने गरेको थियो।
गत वर्ष सञ्चार माध्यममा यस विषयमा समाचारहरु प्रकाशन भएपछि सरकारले अनुसन्धान गर्ने बताएको थियो । सन् २०१३ देखि नेपालमा ट्रेकरहरुलाई नक्कली ट्रेकिङ बीमाका नाममा पदयात्री पर्यटकहरुलाई ठग्ने काम भइरहेको छ ।
नेपाली टाइम्सलगायत विभिन्न सञ्चारमाध्यमहरुले नक्कली रेस्क्यू र ट्रेकिङ इन्सुरेन्सबारेका खबरहरु प्रकाशन गर्दै आइरहेका छन् ।
पर्यटनमन्त्रीले गत वर्ष यस विषयमा अध्ययन गरेर ट्रेकिङ पर्यटकहरुका लागि उपचार र आपतकालीन उद्धारका लागि नयाँ नीति बनाएर लागू गर्ने बताएका थिए । तर अहिलेसम्म कुनै नियम लागू भएको छैन। पर्यटकहरु दिनहुँ ठगिने क्रम जारी नै छ।
आईपीपीजे आफ्ना स्वयंसेवक चिकित्सकहरुले स्थानीय होटल र लजहरुमा दुर्व्यवहारको सामना गर्नुपरेको बताएको छ । खुम्बू पासाङल्हामु गाउँपालिकाले गोक्यो क्षेत्रमा सन् २०२० बाट आईपीपीजीलाई काम गर्ने अनुमति रद्द गरिदिएको छ । यसको मतलब अब आईपीपीजीले सञ्चालन गरिरहेको क्लिनिक बन्द हुनेछ ।
विगत १७ वर्षदेखि आईपीपीजीले गोक्यो क्षेत्रमा दिएको सुविधाले हजारौं बिरामीको उपचार भएको छ भने सयौं भरिया र पर्यटकको ज्यान जोगिएको छ ।
"हामी आफूलाई जहिले पनि गोक्यो उपत्यकाका शेर्पाहरुको अतिथिको रुपमा सोच्ने गर्छौं । सगरमाथा नेशनल पार्क र स्थानीय समुदायले बोलाएपछि हामी सेवा गर्न भनेर आएका हौं," निक मसोनले लेखेका छन्, "हामी फेरि पनि हाम्रो शेल्टर र आपतकालीन उद्धार केन्द्र नेपालीलाई नै हस्तान्तरण गर्न चाहन्छौं।"
तल्लो क्षेत्रबाट आउने भरिया र ट्रेकरहरु हावापानीको अनुकूलताका कारण बढी समस्यामा पर्ने गरेका छन् । माथिल्लो क्षेत्रमा बसोबास गर्ने शेर्पा गाइडहरुलाई खासै यसको समस्या देखिदैन।
सन् २०१९ देखि नयाँ प्राइभेट क्लिनिक खुलेपछि र स्थानीयले आईपीपीजीलाई ठाउँ छोड्न दबाब दिएपछि समस्याले चर्को रुप लिएको देखिन्छ।
काठमाडौंको एउटा निजी अस्पतालले खुम्बूमा क्लिनिक खोलेर जब आफ्नै हेलिकप्टर मार्फत मानिसहरुलाई ओसार्न थाल्यो त्यसले समस्या निम्त्याएको हो । यसले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको व्यापारिक मानसिकताको विकृतिको प्रभाव अब हिमाली क्षेत्रमा समेत बढेको देखाएको छ ।
"बीमा कम्पनीले उठाउने बिलमा रकमको आकार कति ठूलो हुन्छ भनेर त तपाईं नै कल्पना गर्न सक्नुहुन्छ, "गोक्यो क्षेत्रमा स्वयंसेवकको काम गरिरहेका एदी अल्बर्टले लेखेका छन् ।