टोटनहाम र लिस्टर सिटीको जित, युनाइटेड पराजित
इंग्लिस प्रिमियर लिगमा लिस्टर सिटी र टोटनहामले जित निकाल्दा म्यानचेस्टर युनाइटेड बर्नेलीसँग पराजित भएको छ ।
बुधबार राति सकिएको खेलमा लिस्टर सिटीले वेस्ट हाम विरुद्ध ४–१ को सहज जित निकालेको छ । सिटीले २४औं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । हार्बे बार्नेसले गोल गर्दै अग्रता दिलाएको लिस्टरका लागि रिचार्डो डोमिन्गोजले पहिलो हाफको थपिएको अतिरिक्त समयमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
तर, दोस्रो हाफको ५०औं मिनेटमा वेस्टहामले पेनाल्टी पायो । मार्क नोब्लेले गोल गर्दै २–१ को अवस्था बनाए । तर, ८१औं मिनेटमा फेरि लिस्टरका एयोज पेरेजले पेनाल्टीबाटै गोल गरे भने उनले ८८औं मिनेटमा थप गोल गर्दै ४–१ को जित निकाल्यो ।
अर्को खेलमा नर्विच सिटीलाई टोटनहामले २–१ ले पराजित गरेको छ । टोटनहामका लागि डेले र सनले क्रमशः ३८ र ७९औं मिनेटमा गोल गर्दा नर्विचका लागि टेम्मे पुक्कीले ७०औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
अर्को बलियो टीम म्यानचेस्टर युनाइटेड भने बर्नेलीसँग २–० ले पराजित भएको छ । पहिलो हाफको ३९औं मिनेटमै क्रिस वुडले गोल गर्दै बर्नेलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५६औं मिनेटमा फेरि जे रोड्रिगेजले गोल गर्दै दोब्बरको अग्रता बनाए । तर, युनाइटेडले भने सान्त्वना गोल समेत गर्न सकेन ।