पहिलो प्रादेशिक ‘मानवीय सहायता स्थल’ को धनगढीमा उद्घाटन
प्राकृतिक विपद्का बेला आइपर्ने समस्या समाधानका लागि कैलालीको धनगढीमा प्रादेशिक ‘मानवीय सहायता स्थल’ को बुधबार उद्घाटन भएको छ ।
सहायता स्थलमै आयोजित कार्यक्रममा गृहसचिव पे्रमकुमार राईले सहायता स्थलको उद्घाटन गर्दैै प्राकृतिक विपत्ति आइपर्दा मानवीय सहायता छिटोभन्दा छिटो प्रदान गर्न सहयोग पुग्ने उद्देश्यले ‘मानवीय सहायता स्थल’ स्थापना गरिएको बताए ।
गृह मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा विश्वखाद्य सहयोग कार्यक्रम (डब्लुएफपी) ले पहिलो पटक धनगढी विमानस्थलसँगै सहायता स्थल निर्माण गरेको हो ।
१५ हजार ३५ मेट्रिक टन बराबरको मानवीय सहायता सामग्री भण्डारण गर्न सक्ने क्षमता रहेको यस सहायता स्थलबाट ६० हजारभन्दा बढी व्यक्तिलाई एकैपटक राहत उपलब्ध गराउन सक्ने क्षमताको रहेको डब्लुएफपीकी राष्ट्रिय निर्देशक पेपा ब्रयाडफोर्डले जानकारी दिइन् ।
मानव स्थलमा आश्रय सामग्री, स्वास्थ्य तथा स्वच्छता किट्स, पानी सरसफाइ सम्बन्धी उपकरण, बन्दोबस्तीका सामान, इन्धन भण्डारण, सेटलाइट फोन, खोज तथा उद्धारका काममा प्रयोग हुने उपकरणहरु हुनेछन् ।
विपद्भन्दा अगाडि नै आपत्कालीन तयारीमा गरिने लगानी, समय र जीवन दुवैको बचत गर्नका लागि विश्वका धेरै देशहरुमा यस खालको सहायता स्थल हुने डब्लुएफपीकी राष्ट्रिय निर्देशक पेपाले बताइन् ।
यस किसिमको सहायता स्थलमा पहिलो पटक काठमाडौंको विमानस्थलमा निर्माण गरिएको थियो । २०७२ को भूकम्प आउनु अघि एक महिना अघि मात्रै पूर्ण तयारी अवस्थामा रहेको सहायता स्थलबाट तत्काल हजारौं भूकम्प पीडितलाई राहत सामग्री पु¥याउन सकिएको डब्लुएफपीले जनाएको छ ।
काठमाडौंको पछाडि प्रादेशिक सहायता स्थल धनगढीमा पहिलो पटक उद्घाटन गरिएको हो । त्यस्तै बिहिबार नेपालगंजमा पनि प्रादेशिक मानवीय सहायता स्थलको उद्घाटन हुने र त्यसपछि अन्य प्रदेशहरुमा स्थापना गरिंदै जाने गृह सचिव राईले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले यस खालको महत्वपूर्ण कार्यका लागि जग्गा प्रदान गरेको बताए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिकाका प्रमुखलगायतले प्रादेशिक मानवीय सहायता स्थल पहिलो पटक धनगढीमा स्थापना गरेको भन्दै संघीय सरकार तथा दातृ निकायहरुलाई धन्यवाद दिए ।
बेलायती राजदूतको नेपालीमा मन्तव्य
मानवीय सहायता स्थलको उद्घाटन कार्यक्रमका लागि धनगढी आइपुगेकी नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपाली भाषामा मन्तव्य राख्दै विपद्का बेला सुदूरपश्चिम प्रदेशले मानवीय सहायता स्थलको उपयोग गर्र्ने विश्वास व्यक्त गरिन् ।
युकेएडको सहयोगमा नेपाल सरकारले काठमाडौंमा बनाएको यसप्रकारको सहयता स्थलले २०७२ को भूकम्पमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा पनि गरिन् । साथै ७ वटै प्रदेशमा विपद पूर्व तयारीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।