सासू डायनापछि बुहारी मेगनलाई पछ्याइरहेछन् ‘पापाराजी’: यसकारण चिन्तित छन् ह्यारी ?
मिडिया र बेलायती राजपरिवार बीचको सम्बन्ध विगत लामो समयदेखि त्यति सुमधुर छैन । करीब दुई दशकभन्दा बढी समययता मिडिया पछ्याइरहन्छ र बेलायती राजपरिवार त्यसबाट भागिरहन्छ ।
विशेष गरेर सन् १९९७ मा तत्कालीन प्रिन्सेस अफ वेल्स डायनाको मृत्युभन्दा पछि मिडिया र रोयल फ्यामिलीबीच दरार आउन शुरु भएको हो, जुन अझै पनि सुधार हुने देखिदैन ।
व्यक्तिगत जीवनमाथि मिडियाले देखाएको अतिरिक्त चासोले राजकुमारी डायनाले ज्यान गुमाउनु पर्यो । डायनाको मृत्युको कारण के हो ? औपचारिक फैसला गर्भमा नै छ । तर सजिलै बुझ्न सकिने कुरा के हो भने मिडिया पछ्याइरहेको थियो र उनी भागिरहेकी थिइन् । त्यही लुकामारीले उनको ज्यान लिएको हो, भ्यानिटी फ्येर म्यागेजिनले निष्कर्ष निकालेको छ ।
छोरा नाबालक हुँदै ज्यान गुमाएकी डायनाले बुहारीलाई देख्न पाइनन् । तर, बुहारी मेगनमा आफ्नै सासूआमाले भोगेको नियति दोहोरिएको छ । ह्यारी आमा बितेको दुई दशकभन्दा बढी समयपछि श्रीमतीले पनि आमाकै जस्तो दुर्दशा भोग्नुपर्ने चिन्ताले ग्रसित छन् । त्यसबाट जोगिन उनले निकै ठूलो पद र प्रतिष्ठालाई त्यागेका छन् ।
कतिसम्म भने राजकुमार ह्यारी दम्पतीले राजपरिवारको विशेष भूमिका मात्रै त्याग्ने निर्णय गरेका छैनन् त्यससँगै बकिङ्घम प्यालेसबाट पनि बाहिरिने घोषणा गरेका छन् । ह्यारीले सन् २०१६ मा उनीहरू बीचको सम्बन्धबारे मिडियामा चर्चा हुन थालेदेखि नै चिन्ता व्यक्त गरिरहेका छन् ।
गत वर्ष मेगनले आफ्ना बुवालाई लेखेको पत्र डेलिमेलले सार्वजनिक गरेपछि ह्यारीले भनेका थिए, “मलाई थाहा छ, मेरी आमा जसलाई मैले जीवनमा सबैभन्दा बढी माया गरेँ उसले कस्तो नियति भोग्नुपर्यो । अब मलाई डर लाग्न थालेको छ कि कतै त्यही नियति मेरी श्रीमतीले पनि भोग्नुपर्ने त होइन ?”
शायद यही चिन्ताले हुनुपर्छ ह्यारीले आफ्नो पारिवारिक सुख सुविधालाई त्यागेर राजपरिवारको भूमिकाबाट अलग हुने फैसला गरे । महारानी एलिजाबेथले पनि त्यसलाई स्वीकृति दिइसकेकी छन् । आफ्नो निर्णयबमोजिम ह्यारी दम्पती यतिबेला क्यानडामा छन् ।
तर क्यानडामा पनि उनीहरूले आनन्दले बस्न पाएका छैनन् । पापाराजीहरूको भीडले उनीहरूलाई तनाव दिन छाडेको छैन । सञ्चार माध्यमहरूमा मेगनका व्यक्तिगत तस्वीरहरू प्रकाशन भएका छन् । ह्यारी दम्पतीले आफूसँग अनुमति नै नलिएर खिचेका ती तस्वीर कैद र प्रकाशनविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
ह्यारी दम्पतीका निजी वकिलहरूका अनुसार क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा मेगनले आफ्नो छोरा बोकेर कुकुर डोर्याउँदै गरेको तस्वीर मिडियामा छापिएका छन् ।
त्यसबाहेक अरु पनि तस्वीर खिचिएको बारेमा उनीहरू चिन्तित बनेका छन् । कतिसम्म भने लामो दूरीको लेन्सको प्रयोग गरेर घरभित्रका तस्वीरहरू खिच्ने प्रयास समेत भएका खबरहरू विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित भएका छन् ।
यसले फेरि पनि के देखाएको छ भने सार्वजनिक जीवनमा रहनेहरूले व्यक्तिगत जीवनलाई व्यवस्थित गर्न नसक्दा र मिडियाको अतिरिक्त चासोले जहिले पनि दुर्घटनालाई निम्त्याइरहेको हुन्छ ।
डायनाको प्रेम, विवाह र मिडिया चासो
डायनाको जन्म तत्कालीन ग्रेट ब्रिटेनको अर्ल स्पेन्सर परिवारमा १ जुलाई सन् १९६१ मा भएको थियो । बिहे सन् १९८१ मा वेल्सका राजकुमार चाल्र्ससँग भयो भने मृत्यु सन् १९९७ मा पेरिसमा कार दुर्घटनमा परेर भयो ।
डायनाले राजकुमार चाल्र्सलाई भेट्दा १६ वर्षकी थिइन् भने राजकुमार २९ वर्षका थिए । डायनाकी दिदी साराको सुटिङ पार्टी भइरहेको थियो । त्यही पार्टीमा अतिथि बनेर आएका राजकुमार चाल्र्ससँग डायनाको पहिलो भेट भएको थियो । जुन भेट साढे तीन वर्षपछि विवाहमा परिणत भयो ।
त्यतिबेला डायनाले चाल्र्ससँग करीब एक हप्ता लामो समय सँगै बिताएको बारेमा ८ सेप्टेम्बर सन् १९८० मा एउटा ट्याबलोइट पत्रिकाले समाचार लेखेपछि त्यसले सनसनी मच्चायो । डायनालाई यही घटनाबाट पछ्याउन शुरु गरेको मिडियाले उनको मृत्यु हुँदासम्म कहिल्यै छोडेन ।
समाचार प्रकाशन भएको केही समयपछि २४ फेब्रुअरी सन् १९८१ मा बकिङ्घम दरबारले उनीहरूबीच बिहे हुने घोषणा गर्यो । बिहे घोषणा भएको पाँच महीनापछि उनीहरूको विवाह सम्पन्न भयो ।
लामो समयसम्म पनि उनीहरूको बिहेका किस्साहरू सुनाइन्थे । मिडियाले पनि त्यतिबेला त्यो शताब्दीकै सबैभन्दा ठूलो विवाह भनेर प्रचार गरेका थिए । विश्वभरका टेलिभिजनले अनुमति लिएर विवाहलाई लाइभ प्रसारणसमेत गरे । प्रेमदेखि विवाहसम्म मिडियाले उनलाई निरन्तर पछ्यायो ।
त्यसपछि २१ जून सन् १९८२ मा डायनाले पहिलो सन्तान विलियमलाई जन्माइन् । विलियम अहिले बकिङ्घम दरबारमा राजकुमारको जिम्मेवारीमा छन् । त्यसपछि १५ सेप्टेम्बर १९८४ मा हेनरी चाल्र्स अल्बर्ट डेविड अर्थात, ह्यारीलाई जन्म दिइन् ।
बच्चा जन्माइसकेपछि पनि डायना मिडिया मसला बनिरहिन् । कहिले उनले बच्चाको लुगा धोएको त कहिले खाना पकाएर खुवाएका विषय मिडियाले कभर गरिरहन्थे ।
टेलिग्राफका अनुसार डायना आफ्ना सार्वजनिक र सामाजिक कार्य बाहेक अन्य विषयमा मिडियाले हस्तक्षेप गरेको पटक्कै रुचाउँदिनथिइन् । तर, मिडियालाई उनका हरेक गतिविधिको चासो भइरहन्थ्यो ।
चार्ल्स र डायनाको सम्बन्ध विच्छेद
चार्ल्स डायना अलग्गै बसिरहेको विषय ८० को दशकपछि सार्वजनिक भइसकेको थियो । तर, सन् १९९२ को डिसेम्बरमा प्रधानमन्त्री जोन मेजरले हाउस अफ कमनमा ‘सहमतिमा छुट्टिएको’ भनेर जानकारी नगराएसम्म धेरैलाई यो कुराको विश्वास नै लागेको थिएन । त्यसको एक वर्षपछि डायनाले आफूले सार्वजनिक जीवन त्यागेको घोषणा नै गरिन् ।
त्यसअघि सन् १९९२ मा नै बेलायती राजपरिवार भारत भ्रमणमा रहेका बेला डायनाले आफू छुट्टिएको संकेत गरेकी थिइन् । ताजमहल अगाडि एक्लै खिचाएको एउटा तस्वीरबारे पत्रकारहरूले कस्तो अनुभव रह्यो भनेर सोध्दा उनले जवाफ दिएकी थिइन्, “आनन्दको अनुभव भयो, निकै धेरै आनन्द ।” सञ्चारकर्मीहरूले अर्को प्रश्न सोधेका थिए, “यसको मतलब के हो ?” उनले जवाफ दिएकी थिइन्, “आफै अनुमान गर्नू ।” उनी श्रीमान् चार्ल्ससँगै भ्रमणमा रहे पनि उनले एक्लै तस्वीर खिचाएर सम्बन्ध विच्छेदको संकेत गरेकी थिइन् ।
डायनाभन्दा पहिले चाल्र्सको प्रेम सम्बन्ध सन् १९७१ देखि १९७३ सम्म क्यामिला पार्कर बोलेससँग थियो । डायनाले सन् १९९५ मा बीबीसीको समसामयिक टेलिभिजन शो ‘पानारोमा’मा अन्तर्वार्ता दिँदै भनेकी थिइन्, “हो, ऊसँग हामी तीनजनाको वैवाहिक सम्बन्ध थियो, त्यसैले त्यो सानोतिनो भीड हुन पुग्यो ।” उनले चार्ल्सको विवाहेतर सम्बन्धको संकेत गरेकी थिइन् ।
उनले त्यही अन्तर्वार्तामा यो पनि स्वीकार गरिन् कि उनी जेम्स हेविट्टसँग प्रेम सम्बन्धमा जोडिइसकेकी छिन् । “हो, म उसलाई माया गर्छु । हामी प्रेममा छौँ ।” त्यसपछि महारानीले चार्ल्स र डायना दुवैलाई पत्र लेखेर तुरुन्तै सम्बन्ध विच्छेद गर्न आदेश दिइन् ।
उनले सार्वजनिक रूपमा बोलेको विषयले महारानी र सिंगो राजपरिवारलाई तनाव दिइरहेको थियो । पछि राजपरिवारले डायना र चाल्र्सको सम्बन्ध विच्छेद गर्ने तर राजपरिवारको जिम्मेवारीबाट अलग्गिनु नपर्ने गरी निर्णय गर्यो ।
लामो समयको तनावग्रस्त सम्बन्ध २८ अगस्त सन् १९९६ मा आएर औपचारिक हिसाबले विच्छेद भयो । त्यसपछि प्रिन्सेस अफ वेल्सको टाइटल त उनीसँगै रह्यो तर राजपरिवारको सम्मान उनीसँग रहेन ।
राजकुमारी डायनाको मृत्यु
जसै राजकुमारी डायनाको सम्बन्ध राजपरिवारसँग हुन पुग्यो उनी सञ्चारमाध्यमका लागि चासोको विषय बनिन् । राजपरिवारको सदस्य हुनु, शारीरिक हिसाबले सुन्दर हुनु र उनका आक्रामक निर्णयले उनीमाथि मिडियाको चासो अतिरिक्त हुँदै गयो ।
जसका कारण औपचारिक सम्बन्ध विच्छेद भएको एक वर्षपछि ३१ अगस्त सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा परेर उनको मृत्यु भयो । उक्त दुर्घटनमा उनका प्रेमी इजिप्टियन बिलिनियोर मोहमद अलफायदका छोरा डाडी फायद र कार चालक हेनरी पाउलको पनि मृत्यु भयो । तर, उनका सुरक्षा गार्ड ट्रेभोर रेस जोनस भने बचे ।
तीव्रगतिमा गुडिरहेको कार दुर्घटनामा पर्दा पाउल र फायदको घटनास्थलमा र डायनाको अस्पतालमा केही घन्टापछि उपचारका क्रममा मृत्यु भयो ।
३६ वर्षीया डायना सवार मर्सिडिस एस–२८० कार मध्यरातको समयमा पेरिसको अल्मा ब्रिजमुनिको सुरुङको पिल्लरमा ठोकिएर दुर्घटना भएको थियो ।
बेलायत र फ्रान्स सरकारको संयुक्त अनुसन्धानले कारचालक पाउललाई दोषी ठहर गरेको थियो । पाउलले मदिरा सेवन गरेर तीव्रगतिमा चलाएको गाडी नियन्त्रण गुमाएर पोलमा ठोकिँदा दुर्घटना भएको थियो ।
फायद र डायना मध्यरातको समय सेइनी नदीको किनारमा भेटिएको दृश्य खिच्न पापाराजी फोटोग्राफरहरूले पछ्याएपछि त्यहाँबाट भागेर बसिरहेको रिज होटेलतर्फ जान लाग्दा दुर्घटना भएको थियो ।
पछि आएर त्यसलाई विभिन्न षड्यन्त्र भएका अनुमानहरू गरिएका थिए । कसैले फायद र डायनाको प्रेम सम्बन्धपछि बच्चा बसेको र उक्त बच्चालाई राजपरिवारको भूमिकामा राख्नुपर्ने भएकाले राजपरिवारको निर्देशनमा हत्या गरिएको भन्ने चर्चासमेत भएका थिए।
–एजेन्सीकाे सहयाेगमा