एमसीसीसँगै नेपालमा अमेरिकी सेना आउँछः नेकपा नेता पोखरेल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगै सेना पनि आउने बताएका छन् ।
पुष्पलाल मित्रता केन्द्रले नयाँ बानेश्वरमा राखेको सी चिनफिङ भाग–१ र २ पुस्तकको विमोचन कार्यक्रममा नेता पोखरेलले एमसीसी सँगै अमेरिकी सेना नेपाल आउने बताए । उनले भने, “एमसीसी परियोजनाको सुरक्षाका नाममा नाममा नेपालमा अमेरिकी सेना आउँछ, त्यसैले मैले विरोध गरेको हुँ ।”
अमेरिकी दूतावासले केही दिन अगाडि सार्वजनिक गरेको दश तथ्यले एमसीसी सँग जोडिएको प्रश्नको जवाफ नदिएको उनले बताए । इण्डो प्यासेफिक रणनीति अन्तर्गत एमसीसी नभएको भन्दै दूतावासले दश तथ्य सार्वजनिक गरेको थियो ।
“यति ठूलो परियोजना सञ्चालनका लागि डीपीआर किन छैन ?” पोखरेलले भने, “डीपीआर बिना चल्ने परियोजनाको रहष्य छ ।”
उनले चीन सरकारले अगाडि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ्स् (बीआरआई) को असफल बनाउन एमसीसी आएको नेता पोखरेलले बताए ।
चीनबाट ल्याउन लागिएको रेलका लागि भइरहेको बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लाई प्रभावमा पार्नेगरी ट्रान्समिसन लाइनको कार्यक्रम ल्याउनुको कारण अमेरिकाले नखुलाएको उनको भनाइ छ । रेल ल्याउन नदिनकै लागि एमसीसीमा सर्तहरु अमेरिकाले तेस्र्याएको पोखरेलको भनाइ छ ।
“एमसीसी संसदबाट पारित हुने तर, संशोधन संसदले गर्न नपर्ने प्रावधान राखिनु, एमसीसी सँग जोडिएका विषयमा फौजदारी अभियोग नलाग्ने र परियोजना अमेरिकाले चाहे तोड्न सक्ने व्यवस्थाले देशको सार्वभौमता रहँदैन”, पोखरेलले भने ।