अस्ट्रेलियामा फेरि दन्कियो आगो, राजधानी सहितका कयौं स्थान खाली गराइयो
अस्ट्रलियाको राजधानी केनबराको एअरपोर्टको नजिकै रहेको जंगलमा आगो सल्किएपछि शहरका केही स्थान खाली गराइएको छ ।
शहर नजिकै लागेको आगोका कारण आवागमन रोकिएको छ । अधिकारीहरूले आगलागी भएका नजिकका क्षेत्रलाई खाली गर्न र प्रभावित क्षेत्रभन्दा टाढै रहन भनेका छन् ।
अस्ट्रेलियामा केही दिन अघि परेको पानी र तापमानमा आउको गिरावटका कारण आगलागी नियन्त्रणमा केही सफलता मिलेको थियो । तर, तीव्र हावा र फेरि तापमान बढ्नाले बुधबार फेरि स्थिति नियन्त्रण बाहिर गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
सामाजिक संजालमा राखिएका तस्वीरमा राजधानीका उपनगरीय क्षेत्रमाथि धुवाँको मुस्लो फैलिएको देखिएको छ । हालैका दिनमा केनबरा, सिड्नी र मेलबर्न विश्वमा सबभन्दा प्रदूषित शहरमध्येका भएका छन्।
गत सेप्टेम्बरदेखि शुरु भएको आगलागीबाट अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ । २५ सय घर पूर्णरुपमा नष्ट भएका छन् ।
अस्ट्रेलियाका जंगलहरूमा लागेको आगोको असर बुधबार प्रकाशित आर्थिक सर्वेक्षणमा देखाइएको छ । सर्वेक्षणमा खर्च कटौतीको विषय ल्याइएको छ ।
प्राकृतिक विपत्तिबाट विश्वकै १४ औं ठूलो अर्थ व्यवस्थामा दबाब परेको देखिएको छ । सर्वेमा डिसेम्बरदेखि मार्चसम्मको तीन महीनामा घरेलु उत्पादनमा ०.२५ अंकको कमी आउनसक्ने आकलन गरिएको छ ।