कोरोनाभाइरसले चीनमा नौ जनाको ज्यान लियो, अमेरिकामा पनि भेटियो
कोरोना भाइरसले चीनमा ज्यान जानेको संख्या नौ पुगेको छ । स्वरुप परिवर्त गरेर फैलन सक्ने लक्षण भएको यस भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४४० पुगेको छ ।
मान्छेबाट मान्छेमा सर्ने यो भाइरस स्वरुप परिवर्तन गरेर सर्ने भएकाले सजक रहन चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चेतावनी दिएको छ ।
चीनले रोकथाम र नियन्त्रणको 'सबैभन्दा महत्त्वपूर्ण चरण'मा प्रवेश गरेको भन्दै खतरा बढेको संकेत गरेको छ ।
श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पनि पुष्टि गरेको बीबीसीले जनाएको छ ।
अमेरिकाको द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा भेटिएको हो ।
चीनको वुहान सहरबाट उक्त भाइरस फैलन सुरु भएको हो । कोरोना भाइरस फैलिन सुरु भएपछि उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ ।
चीनबाट फैलिन सुरु भएको यो रोगको संकेत नेपालमा पनि भेटिएको आशंकामा एक जना विद्यार्थीलाई निगरानिमा राखेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जनाएको थियो ।
नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन । कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो ।
पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरमा देखिए पनि मानिसलाई सङ्क्रमित गरेको उदाहरण भेटिएको थिएन ।
कोरोनाभाइरसले संक्रमित व्यक्तिलाई ज्वरो आउने, खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने, मिर्गौलाले काम गर्न छोड्ने र मृत्यु समेत हुन सक्छ ।
- एजेन्सीको सहयोगमा