सन्दीपले आज नयाँ कीर्तिमान बनाउलान् ?
नेपाली लेग स्पिनर सन्दीप लामछाने अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगका अनिवार्य सदस्य बनिसकेका छन् । विश्वका चर्चित लिग खेल्दै सन् २०१९ मा सवैभन्दा धेरै देश र लिग खेल्ने खेलाडीको कीर्तिमान उनले बनाए ।
सन् २०१९ मै सन्दीपले टी–२० क्रिकेटमा सवैभन्दा धेरै विकेट लिने रेकर्ड राखे । उनले वर्षभरमा २८ विकेट लिदैं सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा रहे ।
राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य सन्दीप बुधबार अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नयाँ कीर्तिमानको नजिक छन् । मेलबर्न स्टार्समा आवद्ध सन्दीपले एडिलेड स्ट्राइकर्स विरुद्ध दुई विकेट लिए विकेटको शतक बनाउनेछन् ।
यदि, सन्दीपले बुधबार दुई विकेट लिए भने शतक विकेट लिने पहिलो नेपाली बलर हुनेछन् । सन्दीपले ७२ टी–२० खेल्दै ९८ विकेट लिइसकेका छन् ।
सन्दीपलाई पछ्याइरहेका बसन्त रेग्मीले ४० खेलबाट ५३, करण केसीले २७ बाट ३३ र सोमपाल कामीले ३३ खेलबाट ३० विकेट लिएका छन् ।
क्रिकेटबाट सन्यास लिएका शक्ति गौचनले ३१ खेलबाट ३२ विकेट लिएका छन् । तर, सन् २०१६ मा हङकङ विरुद्धको टी–२० बाट डेब्यू गरेका सन्दीप तीन वर्षमै शतक बनाउने कीर्तिमान नजिक छन् ।
सन्दीपले लिएको विकेट
नेपाली राष्ट्रिय टीम- २८ विकेट
इण्डियन प्रिमियर लिग (२०१८)- ५ विकेट
क्यारेबियन प्रिमियर लिग (२०१८)- ७ विकेट
अफगानिस्तान प्रिमियर लिग (२०१८)- २ विकेट
बिग बास लिग (२०१८)- ११ विकेट
बांग्लादेश प्रिमियर लिग (२०१८–१९)- ४ विकेट
पाकिस्तान सुपर लिग (२०१९)- ११ विकेट
इण्डियन प्रिमियर लिग (२०१९)- ८ विकेट
क्यारेबियन प्रिमियर लिग (२०१९)- ८ विकेट
बिग बास लिग (२०२० जारी)- १४ विकेट