तानाशाह मार्काेस ढाल्ने पत्रकार आेलिवर्सको निधन
पत्रकारिताको इतिहासमा असाधारण पत्रकारमध्ये एक ओलिवर्स हुन् । उनले सन् १९८० मा तानाशाह फर्डिनान्ड मार्कोसविरुद्ध सहकर्मी पुरुष पत्रकारहरुले आलाेचना गर्न नसक्दा पनि एक्लै गर्ने साहस गरेकी थिइन्।
ओलिवर्सले तानाशाह मानिने मार्कोसविरुद्ध आलोचना गरे पनि पछि आएर राष्ट्रपति रोड्रिगो दुतेर्तेलाई समर्थन गरेकी थिइन् । जसलाई धेरैले अनपेक्षित समर्थन मानेका थिए।
चर्चित फिलिपिनी पत्रकार निन्ज काचो ओलिवर्सको ७८ वर्षको उमेरमा ३ जनवरीमा निधन भएको छ।
ओलिवर्सको परिवारले हृदयाघातका कारण उनको मृत्यु भएको जनाएको छ । उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेकी थिइन् । तर, उनको मृत्यु कहाँ भयो भन्ने विषयमा परिवारले नखुलाएको न्यूयोर्क टाइम्सले जनाएको छ।
तत्कालीन समयमा मार्कोसविरुद्ध आलोचना गर्न सक्ने युवा महिला पत्रकारको उदयलाई फिलिपिनी पत्रकारिता र राजनीतिको इतिहासमा उल्लेखनीय घटनाका मानिन्छ। उनी लगायत धेरै महिला पत्रकारलाई त्यतिबेलाको सरकारी सेनाले सोधपुछ र धम्की दिएर सताइरहन्थ्यो।
उनले सुरुवातमा टेलिभिजनमा समाचार वाचिकाका रुपमा काम गरेकी थिइन् । पछि आएर उनले मनिला बुलेटिनका नामले चिनिने त्यतिबेलाको बुलेटिन टूडे अखबारमा स्तम्भकारका रुपमा काम गरिन्।
उक्त स्तम्भमा उनले मार्कोस र उनकी श्रीमती इमेल्डाका विषयमा मजाक गरेर लेख्ने गर्थिन् । जुन त्यो समयका लागि दुस्साहसको विषय थियो । आफूलाई उनी वासिङ्गटन पोष्टका राजनीतिक कार्टुनिष्ट बुच्वल्डसँग प्रभावित रहेको बताउँथिन्।
उनीसँगै आलोचना गर्ने अरु पनि महिला पत्रकारका विषयमा विभिन्न पत्रिकामा फिचरहरु प्रकाशन हुन्थे। उनले आफ्नै श्रीमानको सहयोगमा धेरै महिला पत्रकारहरुलाई संगठित गरेर मार्कोस विरोधी एउटा विपक्षी संगठन नै खोलेकी थिइन्।
ओलिवर्सले भनेकी थिइन्– सरकारको मर्दवादी रवैया र महिलाप्रतिको उनको दृष्टिदोषका कारण मार्कोस महिला पत्रकार सामुन्ने मुख देखाउनै नसक्ने भएका छन्।
मार्कोसले भने उनको यो अभिव्यक्तिलाई त्यति धेरै अप्ठेरो मानेनन्, जसका कारण उनको आलोचना गर्ने भए पनि केही प्रकाशकलाई स्वतन्त्र प्रेसको अनुमति दिएका थिए।
तर, ओलिवर्सले अहिलेका राष्ट्रपति दुतेर्ते को आलोचना विरोधी अभियानलाई समर्थन गरिन् । जबकि मानव अधिकारवादी समूहहरुका अनुसार सन् २०१६ भन्दा यता मात्रै दुतेर्तेको सरकारले १२ हजारभन्दा बढीको ज्यान लिइसकेको छ।
निन्ज काचो ओलिवर्सको जन्म १९ जुलाई, १९४१ मा नेगेरोस ओरिएन्टल प्रान्तको डुमगुएटेमा भएको थियो। उनले मनिलाको सान्तो तोमास विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गर्नुभन्दा पहिले मेडिसिन सम्बन्धी अध्ययन गरेकी थिइन् । उनले रेडियोबाट पत्रकारिता शुरु गरेकी थिइन् । साथै रोमान्टिक उपन्यास र फ्रिल्यान्स फिचर राइटरका रुपमा पनि काम गरेकी थिइन्।
उनले लामो समयसम्म बुलेटिन टूडे, बिजनेस डे र बिजनेस वर्ल्ड लगायत कयौं पत्रिकाका लागि फिचर र राजनीतिक स्तम्भ लेखेकी थिइन् ।
सन् १९९९ मा डेली ट्रिब्यूनको स्थापनाभन्दा पहिले उनी द फिलिपिन पोस्टकी प्रमुख प्रकाशन र सम्पादक थिइन् ।