अर्थ/बजार मंगलबार, माघ ७, २०७६

'आईसीपीले प्रदेश १ मा समृद्धिको ढोका खाेलेकाे छ'

कमल रिमाल

'आईसीपीले प्रदेश १ मा समृद्धिको ढोका खाेलेकाे छ'
उद्घाटनपछि आईसीपीमा राज्यमन्त्री दुगड र दूतावासका सचिव गुलाठी । तस्वीर: कमल रिमाल

नेपाल र भारतका प्रधानमन्त्रीले आईसीपी उद्घाटन गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आईसीपीले प्रदेश १ मा समृद्धिको ढोका खुलेको बताए ।

बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) भारतले नेपाललाई हस्तान्तरण गरेपछि मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा राज्यमन्त्री दुगडले उक्त कुरा बताएका हुन् ।

भारतले बनाइदिएको आईसीपीले नेपालका लागि ठूलो सहयोग भएको बताउँदै उनले भने, “विश्वका कुनै पनि दुई मुलुकबीच नेपाल–भारत जस्तो मित्रता छैन ।”

नेपालमा उत्पादित पाम आयल भारतमा रोक लगाइएकाले धेरै मजदुर बेराजगार हुंने अवस्था आएको बताउँदै राज्यमन्त्री दुगडले सहज वातावरण बनाइदिन भारतसँग अनुरोध गरे । कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव प्रभाजितसिंह गुलाठीले नेपाल–भारतको संयुक्त लगानीमा देशका ४ वटा नाकामा आईसीपी निर्माण भएको जानकारी दिए ।

सम्झौताको १४ वर्षपछि विराटनगर १८ बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) भारतले नेपाललाई हस्तान्तरण गरेसँगै संचालनमा आएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भिडियो कन्फरेन्स मार्फत नेपालका प्रधानमन्त्री केपी ओलीलाई आईसीपी हस्तान्तरण गरेका थिए। दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर आईसीपी उद्घाटन पनि गरेका हुन् ।

उद्घाटन लगत्तै नेपालमा उत्पादित वस्तु बोकेका ५ वटा मालवाहक साधन आईसीपीबाट भारत तर्फ पठाइएको छ ।

विराटनगर भंसारका अधिकृत मणिराम पौडेलले मालवाहक साधनलाई माला लगाएर बिदाइ गरे । उनले आगामी १ फेब्रुअरीदेखि आईसीपी पूर्ण रुपमा चल्ने बताए ।

“विराटनगर भंसारबाटै काम हुँदैछ, नयाँ ठाउँमा तयारी गर्न धेरै काम बाँकी छ”, उनले भने । निर्माण सम्पन्न भएपनि भारतले नेपाल तर्फको भंसारलाई आन्तरिक तयारी गर्ने अनुमति दिएको थिएन ।

भारतले भारु १ सय १४ करोड लगानी गरेर सुविधासम्पन्न आईसीपी निर्माण गरेको हो ।

नेपालतर्फ बुधनगर र भारततर्फ जोगवनीमा सन् २००५ मा आईसीपी निर्माण गर्ने सहमति भएको थियो । सहमतिअनुसार सन् २०१० सम्म आईसीपी निर्माण गरिसक्नुपर्ने भएपनि जग्गा अधिग्रहणमा ढिलाइ भएकाले २०१९ मा मात्रै सम्पन्न भएको थियो ।

नेपाल र भारतको सीमा क्षेत्र १२९ बिघा क्षेत्रफलमा तयार भएको आईसीपीमा प्रशासनिक, डिस्पेन्सरी, विद्युत सबस्टेशन, सुरक्षा क्याम्प, क्वारेन्टाइन, भंसार गोदामसहितका भवन बनेका छन् । आईसीपीबाट मलायारोड जोड्ने ४ लेनको ५ किलोमिटर सडक बनाइएको छ ।

आयात–निर्यात वेयर हाउस, चार वटा सुरक्षा भ्यूटावर, आईसीपी परिसरको ढल प्रशोधन प्रणाली, प्रोसेसिङ यार्ड (आयात–निर्यात) बनाइएको छ । प्रोजेक्ट इन्चार्ज साहका अनुसार, आईसीपी परिसरको ४.५ किलोमिटर सडकमा साना–ठूला गरी ५३३ वटा बिजुलीका पोल, ५३० वटा ठूला बल्ल, १२५ वटा सीसीटीभी जडान गरिएको छ ।

आईसीपी परिसरमा रुख, फूल र हरियालीका लागि दुबो रोपिएको छ । नेपाल टेलिकमले आईसीपी क्षेत्रमा फाइबर बिछ्याएर संचार सेवा बिस्तार गरेको छ ।

भारततर्फ पनि उस्तै भवनहरू बनेर संचालनमा आइसकेको छ । भारतका तत्कालनी गृहमन्त्री राजनाथ सिंहले भारततर्फको आईसीपी भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस