रिपोर्ट सोमबार, माघ ६, २०७६

अष्ट्रेलिया डढेलाे, नेपाललाई पाठ

मुकेश पोखरेल

अष्ट्रेलिया डढेलाे, नेपाललाई पाठ

अष्ट्रेलियामा गत जूनदेखि शुरू भएको डढेलोबाट २८ जनाको मृत्यु भइसकेको छ । सीएनएनका अनुसार करीब तीन हजार घर ध्वस्त भएका छन् भने ७३ लाख हेक्टर क्षेत्रमा डढेलो फैलिइसकेको छ । सिड्नी विश्वविद्यालयका अनुसार डढेलोकै कारण करीब ५० करोड वन्यजन्तु मरेका र झ्न्डै एक अर्ब प्रभावित भएको अनुमान छ ।

अन्तरिक्ष अध्ययन संस्था नासाले अष्ट्रेलियाको डढेलोबाट निस्केको धुवाँले विश्वभर नै ‘सर्किट’ बनाउने जनाएको छ । दक्षिण अमेरिका पुगिसकेको यो धुवाँ स्वास्थ्यका लागि खतराको मापन विन्दुभन्दा ११ गुणा बढी छ ।

वातावरणविद्हरू अहिले अष्ट्रेलियामा लागेको डढेलोलाई पृथ्वीमा भएको सबैभन्दा ठूलो घटनामध्येको मान्छन् । दक्षिण एशियाली डढेलो सञ्जालका अध्यक्ष सुन्दर शर्मा यो घटना ठूलो प्राकृतिक प्रकोपका रूपमा इतिहासमा उल्लेख हुने बताउँछन् ।

सन् २००९ मा अष्ट्रेलियाको भिक्टोरिया राज्यमा डढेलोका कारण १७३ जनाको मृत्यु भएको थियो । अहिलेको डढेलोबाट मानवीय क्षति कम भए पनि वातावरण र जैविक विविधतामा पुर्‍याएको असर ठूलो छ ।

अष्ट्रेलिया जस्तै भयावह डढेलो लाग्ने अवस्थिति नेपालमा नभए पनि सन् २००९ मा एकै वर्ष ४९ जनाको मृत्युले बलियो पूर्व–तयारी आवश्यक देखिन्छ।

अष्ट्रेलियास्थित युनिभर्सिटी अफ क्यानबेरामा ‘इन्भायरोन्मेन्टल पोलिसी’ का एशोसिएट प्रोफेसर हेमन्त ओझका अनुसार सुक्खायाममा अष्टे«लियाका झडीमा डढेलो लाग्नु नौलो होइन । उनी भन्छन्, “यसपटक झाडीबाट शुरू भएको आगो जङ्गलसम्म आइपुग्यो । त्यहाँ रूखबाट तयार इन्धनजन्य वस्तुहरू थुप्रिएर रहेका कारण अवस्था भयावह भयो ।”

अष्ट्रेलियामा डढेलोको प्रमुख कारणमध्ये एक तापक्रम वृद्धिदर मानिन्छ । सन् १९०० देखि यता अष्ट्रेलियाको औसत तापक्रम १ डिग्री सेल्सियसले बढेको छ ।

वायुमण्डलमा प्रदूषण थपिने मात्र होइन, अहिले अष्ट्रेलियामा लागेको डढेलोबाट नयाँ मौसमी प्रक्रिया सिर्जना भएको र यसले विश्वव्यापी असर गर्ने वैज्ञानिकले बताएका छन् । सन् १९८७ मा ब्राजिलको ५० हजार वर्ग किलोमिटर अमेजन क्षेत्रको डढेलोले ५०० मिलियन टन कार्वनडाइअक्साइड र ४४ मिलियन टन कार्वनमोनोअक्साइड निकाल्यो । अष्ट्रेलियामा लागेको डढेलो त्योभन्दा ठूलो हो । अमेजनमा गत वर्ष लागेको डढेलोले पनि वातावरणलाई नराम्ररी प्रभावित पारेको थियो ।

तापक्रम वृद्धि र जलवायु परिवर्तनमा कार्वनडाइअक्साइड ग्यासको मुख्य भूमिका हुन्छ । दक्षिण एशियाली डढेलो सञ्जालका संयोजक शर्मा पृथ्वीको तापक्रम र माटोमा सुक्खापन वृद्धिमा डढेलो प्रमुख कारण रहेको बताउँछन् ।

चैतदेखि जेठसम्म अफगानिस्तानदेखि बर्मासम्मको हिमालय (हिन्द–कुश) क्षेत्रको वन–जङ्गलमा लाग्ने डढेलोका कारण भारत, नेपाल, भूटान, बाङ्लादेश र म्यान्मारसम्मको भू–भागलाई तुवाँलोले छोप्छ । यसले पुर्‍याइरहेको वातावरणीय क्षतिबारे नेपालमा मात्र होइन, दक्षिणएशियाका अन्य देशमा समेत विस्तृत अध्ययन भएको छैन ।

जोखिममा नेपाल

नेपालमा पनि हरेक वर्षजसो साना–ठूला डढेलो लाग्छन् । तर, अष्ट्रेलियामा जस्तो डढेलोको जोखिममा भने नेपाल नरहेको विज्ञहरू बताउँछन् । संयोजक शर्मा अष्ट्रेलिया र नेपालको भौगोलिक बनावट, जङ्गलमा रहेका वानस्पतिक प्रजातिको विविधता जस्ता कारणले नेपालमा डढेलोबाट भयावह स्थिति नआउने बताउँछन् । उनी भन्छन्, “अष्ट्रेलियामा एउटै प्रजातिको जङ्गल छ तर, नेपालमा प्रजातिगत विविधता छ, अग्निरेखा, सडक र जङ्गलको बीचमा पर्ने स–साना खोलाले ‘फायर ब्रेक’ को काम गरेका छन् ।”

एशोसिएट प्रोफेसर ओझ पनि डढेलोका कारण हुने जोखिम अष्ट्रेलियामा जस्तो दक्षिण एशियाभरि नै नभएको बताउँछन् । उनका अनुसार यो क्षेत्रमा अष्ट्रेलियामा जस्तो मरुभूमि र झडी छैनन् । पानी पनि छिटोछिटो पर्छ । तर, विश्वव्यापी तापक्रम वृद्धिले सुक्खापन बढेसँगै सचेतना अपनाउनुपर्ने उनको सुझव छ ।

सुन्दर शर्माका अनुसार नेपालमा डढेलो लाग्नुको ६४ प्रतिशत कारण मानवीय हो । प्राकृतिक कारणले डढेलो कमै मात्र लाग्ने उनी बताउँछन् । वन विभागका महानिर्देशक डा.रामप्रसाद लम्सालका अनुसार डढेलो लगाएपछि नयाँ पालुवा पलाउँछ र दाउरा निकाल्न पनि सजिलो हुन्छ भन्ने परम्परागत सोचका कारण वनमा आगो झेस्ने गरिन्छ ।

“जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने गरेको पाइन्छ । यसबाट तराई, महाभारत र चुरे क्षेत्रका जङ्गल बढी प्रभावित छन्”, उनी भन्छन् ।

नेपालको कुल क्षेत्रफलमध्ये करीब ४४ प्रतिशत भूभागमा वन क्षेत्र रहेको छ । वन विनाशको प्रमुख कारण डढेलो नै हो । तालिमप्राप्त जनशक्ति र स्रोत–साधनको अभावले डढेलो नियन्त्रण प्रभावकारी हुनसकेको छैन । डढेलो लगाउनेलाई दण्डित गर्ने कानूनी व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी छैन ।

मुलुकी ऐन, २०२० मा आगो लगाउनेको महलले आगो लगाउनुलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने’ व्यवस्था गरे पनि कार्यान्वयन छैन ।

सामुदायिक वन, सरकारद्वारा व्यवस्थित वन, कबुलियती वन र संरक्षित क्षेत्रको व्यवस्थापनका कार्ययोजनामा डढेलो व्यवस्थापनको विषयलाई गम्भीरताका साथ लिइएको पाइँदैन ।

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक सामुदायिक वनको डढेलोलाई उपभोक्ता समितिले नियन्त्रण गरेर वन जोगाएको दाबी गर्छिन् । उनी भन्छिन्, “समस्या राष्ट्रिय वनको हो । राष्ट्रिय वनबाट सल्केको डढेलोले सामुदायिक वनहरूमा क्षति पुगेको छ । वन जोगाउने हो भने, सबै वन समुदायलाई हस्तान्तरण गर्नुपर्छ ।”

असुरक्षित निकुञ्ज

पाटे बाघ, एकसिङ्गे गैंडा र विभिन्न प्रजातिका वनस्पति तथा वन्यजन्तुका कारण नेपालका निकुञ्ज विश्वमै ख्यातिप्राप्त छन् । तर, तराई क्षेत्रमा पर्ने जैविक विविधताले महत्वपूर्ण पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज डढेलोको जोखिममा छन् । यहाँ गर्मी शुरू भएसँगै डढेलोको त्रास पनि शुरू हुन्छ ।

सुन्दर शर्मा तराईको जङ्गल पतझ्र भएकाले झ्न् बढी डढेलोको जोखिम भएको बताउँछन् । उनी जोखिम कम गर्न माघ या फागुनमा नियन्त्रित रूपमा डढेलो लगाउनुपर्ने सुझव दिन्छन् । उनी भन्छन्, “नियन्त्रित रूपमा मानिसले लगाउने डढेलोले जोखिम घट्छ ।”

जङ्गलमा थुप्रिएर रहने रूखका पातहरूमा कार्वनको मात्रा हुन्छ । यस्ता पातमा आगो लाग्दा धेरै क्षति हुन्छ । वनजङ्गल र घर वरपरका पतिङ्गर ‘कार्वन बम’ हुन् । “समयमै यसलाई जलाइए डढेलोको क्षतिबाट केही हदसम्म बच्न सकिन्छ । अष्ट्रेलियाको डढेलोबाट यो पाठ सिक्न सकिन्छ”, शर्मा भन्छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ डढेलो सम्भावित संवेदनशील क्षेत्रमा मानव नियन्त्रित डढेलो लगाउने र विभिन्न ठाउँमा पोखरी बनाएर क्षति कम गराउने प्रयास गरिएको बताउँछन् । विभागले यस वर्ष निकुञ्जभित्र २३५ वटा पोखरी, १५७ किलोमिटर अग्निरेखा, ९९ किलोमिटर वनपथ र २०३ किलोमिटर गोरेटो निर्माणको योजना बनाएको छ ।

कार्यान्वयनमा छैनन् कानून

सन् २००५ देखि २०१९ सम्ममा डढेलोका कारण नेपालमा १०४ जनाले ज्यान गुमाए भने ९० घाइते भए । डढेलोका कारण औसतमा वार्षिक आठ जनाको मृत्यु र सात जना घाइते हुन्छन् ।

डढेलोबाट सबैभन्दा ठूलो क्षति सन् २००९ मा भएको थियो । १ लाख ४६ हजार ७४२ हेक्टर जङ्गलमा लागेको डढेलोकै कारण ४९ जनाले ज्यान गुमाए । रामेछापको सदरमुकाम मन्थलीस्थित अस्पताल नजिक लागेको डढेलो नियन्त्रण गर्ने क्रममा १३ सैनिकको मृत्यु भएको थियो । त्यसपछि डढेलो नियन्त्रणका लागि वन मन्त्रालयले ‘वन डढेलो व्यवस्थापन रणनीति–२०६७’ नै ल्यायो ।

यो रणनीतिमा डढेलो निरोधात्मक र नियन्त्रण शीर्षकमा वन जोगाउन विभिन्न उपाय अवलम्बन गर्ने उल्लेख छ । डढेलो विपत् निर्देश प्रणाली विकास गरी वन क्षेत्रका संरचनामा दक्ष जनशक्तिको व्यवस्था गर्ने, डढेलोको बढी प्रकोप हुने ठाउँमा निश्चित अवधिका लागि सरकारले सङ्कट अवधि घोषणा गरी राज्यका सबै अङ्गलाई तयार रहन तथा नियन्त्रणमा लाग्न आदेश जारी गर्ने रणनीतिमा उल्लेख छ ।

तर, चैत पहिलो साता डढेलो सप्ताह मनाउने बाहेक रणनीतिको प्रभावकारी कार्यान्वयन छैन ।

डढेलोले वनस्पति, वन्यजन्तु र जैविक विविधतामा क्षति गराउनुको साथै वायुमण्डलमा हरितगृह ग्यास बढाउँछ । नेपालमा हरेक वर्ष डढेलोले पुर्‍याइरहेको क्षतिबारे सरकारी तहबाट अध्ययन भएको छैन । वन विभागका महानिर्देशक लम्साल स्रोतसाधनको अभावले अध्ययन हुन नसकेको बताउँछन् 

प्रतिकृया दिनुहोस