समाचार सोमबार, माघ ६, २०७६

नेकपाको कडा निर्देशनः विभेद गरे पार्टीबाट निष्काशन, तँ भन्न पूर्ण बन्देज

हिमालखबर

नेकपाको कडा निर्देशनः विभेद गरे पार्टीबाट निष्काशन, तँ भन्न पूर्ण बन्देज

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एघार बुँदे कडा निर्देशन जारी गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी एघार बुँदे संहिता जारी गरेका छन् ।

आनीबानी, घरपरिवार र समाजबारे नेकपाका सदस्य कसरी प्रस्तुत हुने भन्ने व्याख्या सहित सर्कुलर जारी गरिएको छ ।

पार्टी केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुबाट शुरु गर्नेगरी नेकपाले संहिता जारी गरेको छ । नेकपाका सदस्यले जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने र आफ्नो कमाईबाट राज्यलाई कर तिर्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त कमाइबाट पार्टीलाई नियमित सदस्यता शुल्क र लेभी बुझाउन सर्कुलर पठाइएको छ ।

नेकपाका पार्टी सदस्यले परिवारका सदस्यहरुबीच बैठक बस्ने, सल्लाह र सुझाव लिने तथा १६ वर्ष पुगेका सदस्यहरु बीच दिनभर गरिने कार्यविभाजन गर्न निर्देशन जारी गरिएको छ ।

सकेसम्म घरमा सहयोगी नराख्ने र राख्नुपर्ने भए विभेद नगर्न पनि निर्देशन दिइएको छ । पार्टी सदस्यहरुले न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने पनि उल्लेख गरिएको छ ।

नेकपाका कुनै सदस्यले कुनै पनि किसिमका विभेद गर्न नहुने र विभेद गरे पार्टी सदस्यबाट कार्बाही गरिने चेतावनी दिइएको छ।

नेकपाले पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउने वातावरण तयार पार्न निर्देशन जारी गरिएको छ । सर्कुलरमा सादा जीवन र उच्च विचारलाई प्राथमिकता सुझाव दिइएको छ ।

सभ्य बन्न नेकपाले परिवारका सदस्यहरुमा तँ भन्न पूर्ण रुपमा बन्द गर्नपर्ने निर्देशन दिएको छ । जन्मदिन, ब्रतबन्ध, पास्नी, विवाह लगायतमा मितव्ययिता अपनाउनुपर्ने पनि उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस