थप समाचार आइतबार, माघ ५, २०७६

सांसद पौड्यालद्वारा सिंहदरबारमा महिला शौचालयको माग

हिमालखबर

सांसद पौड्यालद्वारा सिंहदरबारमा महिला शौचालयको माग

राष्ट्रिय सभाकी सांसद डा विमला राई पौड्यालले संसद सचिवालयसँग महिला शौचालयको व्यवस्था गरिदिन ८/१० महिनादेखि पटक-पटक भने पनि बेवास्ता गरेको गुनासो गरेकी छिन् ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संसद सचिवालयको कामको प्रभावकारिताबारे प्रश्न उठाउँदै महिला शौचालय छुट्टै चाहियो भनेर कयौं पटक भन्दा पनि व्यवस्थापन नगरिएको उनको भनाइ छ ।

झण्डै १० मिनेट संसद सचिवालयका कर्मचारीहरुको कार्यशैलीप्रति प्रश्न उठाउँदै विभिन्न दृष्टान्त दिंदै उनले छुट्टै महिला शौचालय र शौचालयमा टावेलको राख्नुप¥यो भनेर बारम्बार भन्दा पनि नभएको उनको गुनासो छ ।

पूर्व योजना आयोगकी सदस्य समेत भइसकेकी सांसद डा पौडेलले परिवर्तन आफैंबाट र आफ्नै घरबाट शुरु गर्नुपर्ने भन्दै संसद सचिवालयको कार्यशैलीको आलोचना गरेकी हुन् ।

डा पौड्यालले दिगो विकास समितिमा महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालय र विधायन समिति सचिवालयको शौचालयमा टावेल राखिदिन भने पनि महिनौंदेखि नभएपछि राष्ट्रियसभाको बैठकमै कुरा उठाउनु परेको बताइन् ।

दीगो विकास समितिको भवनमा एउटा मात्रै शौचालय छ । उनले भनिन्, “संसद सचिवालयका महासचिवलाई नै भेटेर भनेको । त्यसपछि ठेकेदारलाई दिइयो तर ८/१० महिना भइसक्दा पनि सञ्चालनमा आएको छैन ।” अहिले बनिसकेको जस्तो लागेर फेरि भन्न गएको तर सञ्चालन गरिएको छैन । 

त्यस्तै विधायन व्यवस्थापन समितिको सचिवालयको शौचालयमा टावेल राखिदिन भनेको पनि महिनौं भयो तर अझै भएको छैन । यी दुई बाहेक पनि कैयौं उदाहरण यस्तै छन्, जहाँ एउटै कुराको व्यवस्थापनका लागि समितिको सचिवालयदेखि संसद सचिवालयकै महासचिवसम्म पुग्दा पनि नहुने गरेको फेहरिस्त सुनाइन् ।

उनले कर्मचारी कार्यशैलीप्रति प्रश्न उठाउँदै काम नगर्ने कर्मचारीलाई निष्कासन गरिदिए मात्रै यो अवस्थाबाट सुधार आउने बताइन् । 

प्रतिकृया दिनुहोस