गायिका आस्था राउतलाई पक्राउ गर्न प्रशासनको अनुमति
गायिका आस्था राउतविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता भएपछि पक्राउ गर्न काठमाडौं जिल्ला प्रशासनले अनुमति दिएको छ ।
गत बुधबार विमानस्थलमा ड्युटीमा रहेको प्रहरीलाई चेकजाँचका क्रममा गायिका राउतले दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिशा श्रेष्ठले परिसरमा उजुरी गरेकी हुन् ।
आस्था राउतले विमानस्थलमा भएको उक्त घटनाको बारेमा बोलेको भिडियो सामाजिक सञ्जालमा राखेपछि विवादित बनेको थियो । उनको भिडियो सार्वजनिक भएपछि विमानस्थलको सीसीटीभीमा रेकर्ड भएको भिडियो पनि लिक भएको थियो ।
घटनाको निकै प्रचार भएपछि प्रहरीले छानबिन गरेर प्रारम्भिक प्रतिवेदन बुझाएपछि प्रशासनले उनलाई पक्राउ गर्न अनुमति दिएको हो ।
जिल्ला प्रशासनले अनुमति दिए पनि राउत पक्राउ परेकी छैनन् । उनलाई प्रहरीले फरार रहेको जानकारी दिएको छ ।