समाचार शनिबार, माघ ४, २०७६

जनवरीको अन्त्यसम्म तालिवान–अमेरिका सम्झौता हुने

रासस

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने र अफगानिस्तानमा स्थायी शान्तिका लागि यही जनवरीको अन्त्यसम्ममा सम्झौता गर्ने तयार भइरहेको तालिवान समूहले शनिबार बताएको छ ।

तालिवान समूहले सम्झौताको तयारी भइरहँदा आफ्ना सैनिक गतिविधिलाई पनि बिस्तारै ‘घटाउँदै’ लगेको अफगानी विद्रोही समूहका प्रवक्ताले बताएका छन् ।

प्रवक्ता सुहाइल शाहिनलाई उद्धृत गरी पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ले लेखेको छ, “तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच यसै हप्ता कतारको राजधानी दोहामा वार्ता भएको छ र सम्झौताका लागि सैन्य गतिविधि घटाउँदै लाने सहमति भएको छ ।”

तालिवानी विद्रोहीले यसअघि एएफपीलाई दिएको सूचनामा उनीहरूले केही समय (छोटो) युद्धविराम गर्न लागेको बताएको थियो ।

तालिवान समूह वाशिङ्टनसँग सम्झौता गर्ने बिषयमा निकै आशावादी रहेको छ प्रवक्ताले भने । सहमतिमा अफगानी सेनाले विद्रोहीविरूद्धको कारबाहीलाई देशभर घटाउँदै लाने पनि उल्लेख छ ।

तालिवान र अमेरिकाले करीब एक वर्षपछिको वार्तापछि सन् २०१९ को सेप्टेम्बरमा सम्झौताको नजिक पुगेको घोषणा गरेको थियो तर राजधानी काबुलमा तालिवानी समूहको आक्रमणमा अमेरिकी अधिकारीको मृत्युपछि अमेरिकी राष्ट्रपतिले एकाएक सहमतिको प्रक्रिया ‘अन्त्य’ भएको घोषणा गरेका थिए ।

अमेरिका र तालिवानी प्रतिनिधिबीच डिसेम्बरपछि कतारमा पुनः वार्ता सुरू भएको थियो तर अफगानिस्तानको बाग्राम सैन्य शिविरमा तालिवानी समूहले आक्रमण गरेपछि फेरि केही समय वार्ता अवरूद्ध भएको थियो । बाग्राम सैन्य शिविरलाई अमेरिकाले सञ्चालन गर्दै आएको छ । –एएफपी

प्रतिकृया दिनुहोस