सत्य निरुपण र बेपत्ता छानविन आयोगमा अध्यक्ष सिफारिस
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिएको छ।
पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई आयोग पदाधिकारीको नाम सिफारिस गरेको हो।
समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा डा. गणेश भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरेको हो।
यसअघि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आयोग पदाधिकारी र विधेयक माथिको संशोधन गर्ने सहमति गरेका थिए ।
सो बमोजिम सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई आयोगमा भागवण्डा गरेका हुन् । जसमा सत्य निरुपण कांग्रेसको भागमा र बेपत्ता छानविन नेकपाको भागमा परेको थियो।
सत्य निरुपणमा सदस्यहरू प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ । प्रधान कांग्रेसबाट हुन भने अन्य तीन सदस्य नेकपाबाट हुन्।
यसैगरी बेपत्ता छानविन आयोगमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गंगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ। बेपत्ता छानविनमा सिफारिस भएका भण्डारी नेकपाबाट हुन भने अन्य सदस्य कांग्रेसबाट हुन्।