मेलमिलाप र बेपत्ता पारिएका छानबिन आयोगको विधेयक संशोधनमा सहमति
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धी विधेयक माथिको संशोधन सहमतिमा ल्याउन प्रमुख दुई दल बीच सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग गरेको छलफलमा सहमतिका आधारमा विधेयक संशोधन गर्ने सहमति जुटेको हो । चालू संसद्को अधिवेशनमा नै विधेयक दर्ता गराएर सहमतिका आधारमा चाँडै ल्याउने समझदारी भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङले बताए ।
कांग्रेसका नेता रमेश लेखकले आयोग सम्बन्धी कानून सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझावका आधारमा संसद्मा पेश गर्ने सहमति भएको बताए ।
यसअघि विधेयक माथिको संशोधन गर्न सातै प्रदेशबाट सुझाव लिइएको थियो । नेता लेखकका अनुसार, नेताहरुबीच आयोगका पदाधिकारी नियुक्तीका सम्बन्धमा पनि छलफल भएको थियो ।
दुबै आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले सिफारिस गरेको व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्ती गर्नेमा पनि सहमति भएको उनले बताए ।
“समितिले नाम सिफारिस गर्ने बित्तिकै नाम मन्त्रिपरिषद्ले नियुक्ती गर्नुपर्दछ” उनले भने, “संशोधित कानून र पदाधिकारी नहुँदा शान्ति प्रक्रियाका काम पूरा हुन सकेका छैनन् भन्नेमा पनि छलफल भयो ।” गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले अहिलेसम्म पनि नयाँ पदाधिकारी नाम सरकारलाई सिफारिस गर्न सकेको छैन । जसका कारणले सरकारले ती दुई आयोगमा पदाधिकारी नियुक्त गर्न नसकेको हो ।
छलफलमा नेकपाका नेता नेम्वाङ, खिमलाल देवकोटा, कांग्रेस नेता मीनेन्द्र रिजाल, नेता लेखकलगायत सहभागी थिए ।