जलपक्षीको संख्या घट्दो छ: भुसाल
१५ पुसदेखि ५ माघसम्म जारी जलपक्षी गणनाबारे नेपाल पक्षी संरक्षण संघका संरक्षण अधिकृत कृष्ण भुसाल भन्छन्, “पर्यटन प्रवर्द्धनका नाममा पर्यावरण बिथोल्ने क्रियाकलापले पनि संरक्षणमा चिन्ता थपेको छ।”
जलपक्षीको प्रष्ट परिभाषा के हो ?
मूलतः सिमसार र यस आसपासको क्षेत्रमा प्रजनन्, चरनसँगै अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपक्षी भनिन्छ । हिउँदयाममा चिसो बढ्दै जाँदा तालतलैया, नदीनाला र सिमसार क्षेत्रमा विभिन्न प्रजातिका यी चराको झुण्ड, चहलपहल देखिन थाल्छ ।
नेपालमा जलपक्षीको अवस्था कस्तो छ ?
नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये करीब २०० प्रजाति जलपक्षी समूहभित्र पर्दछन् । तर, पछिल्ला वर्षहरूमा जलपक्षीको संख्या घट्दो छ । पहिले कोशी टप्पु वन्यजन्तु आरक्षमा मात्रै ५० हजार जलपक्षी गणना गरिएकोमा अहिले नेपालभरका तालतलैयामा मुश्किलले यत्तिका संख्यामा चरा भेटिन्छन् ।
जलपक्षी घट्नुका मूल कारण के के हुन् ?
सिमसार क्षेत्रहरूको सङ्कुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रसायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादी प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिंदो तापमान र जलवायु परिवर्तन जस्ता कारणले जलपक्षी विस्थापित भइरहेका छन् ।
त्यसैगरी पछिल्ला दिनहरूमा पर्यटन प्रवर्द्धनका नाममा तालतलैयामा डुङ्गा संचालन, भौतिक संरचना निर्माण, वनभोज जस्ता पर्यावरण बिथोल्ने क्रियाकलापले पनि सिमसारको गुणस्तर र आयु छोट्याएको छ । उदाहरणका लागि काठमाडौंको टौदह र कपिलवस्तुको जगदीशपुर ताललाई पनि हेर्न सकिन्छ ।
जलपक्षी गणनाको आवश्यकता किन पर्यो ?
सन् १९८७ देखि वर्षेनि नियमित रुपमा जलपक्षी गणना हुँदैआएको छ । यसक्रममा नेपालका करीब ६५ स्थानका विभिन्न तालतलैया र नदीका भागहरूमा जलपक्षीको अवस्था हेरिनेछ । खासगरी सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण, अवस्था पत्ता लगाउन, संरक्षणमा स्थानीय समुदाय र सरोकारवालालाई सहभागी गराई सचेतना अभिवृद्धि गर्न यस्तो गणना गर्ने गरिन्छ ।
भदौ मध्यदेखि पुस मध्यसम्म यो क्रम जारी रहन्छ । चैतसम्ममा चराहरू स्थायी बसोबासतर्फ फर्किसक्छन् । त्यसैले पनि धेरै जलपक्षी देखिने यही समयमा गणना गरिएको हो ।
यो मौसममा फिरन्ते चराहरूको नेपाल यात्रा कस्तो देखिन्छ ?
योवेला नेपालमा उत्तरी धु्रव अर्थात्, किर्गिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान, रुस, मंगोलिया, तिब्बत (चीन) लगायतका साथै युरोपबाट पनि चराहरू नेपाल आइपुग्छन् ।
कतिपय चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलंकातिर पनि जान्छन् । जाडो छल्न आउने आगन्तुक चरामा ठूलो हिस्सा हाँस प्रजातिले ओगटेको हुन्छ । खोया हाँस त सगरमाथामाथिबाट समेत उडेर आउने गरेको अध्ययनले देखाएको छ । पाहुना चरासँग रैथाने चराहरू पनि सिमसार र आसपासका क्षेत्रमा रमाइरहेका हुन्छन् ।