बिहीबार रातिदेखि परेको पानीले रौतहटका इँटा उद्योगमा २५ करोड क्षति
बिहीबार रातिदेखि परेको पानीले रौतहटको इँटा उद्योगमा करीब २५ करोड रुपैयाँ बराबरको क्षति भएको व्यवसायीले दाबी गरेका छन् ।
इँटा व्यवसायी रामजी साहले रौतहटको सम्पूर्ण इँटा उद्योगमा गरी करीब २५ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् ।
देशको सबैभन्दा बढी इँटा उद्योग रौतहटमा दुई दिनदेखि परेको पानीले सबैभन्दा बढी क्षति इँटा उद्योगलाई पुर्याएको छ ।
जिल्लामा एक सय ६२ इँटा उद्योग रहेकोमा सबै इँटा उद्योगमा काँचो इँटा वर्षाको पानीले गलेकाले ठूलो क्षति पुगेको व्यवसायी साहको भनाइ छ ।
इँटा उद्योगमा व्यापक क्षति भए पनि वर्षाले गहुँ र मसुरो बालीलाई फाइदा पुर्याएको छ । जिल्लाको दोस्रो खाद्यान्न बाली गहुँ र मुख्य दालबाली मसुरोलाई अहिलेको वर्षाले फाइदा पुर्याएको जनज्योति कृषक संघका अध्यक्ष ज्योतिप्रसादले बताएका छन् । वर्षाले आलु बालीलाई भने निकै क्षति पुर्याएको देखिएको छ ।
सञ्जय मित्र, रौतहट