ब्लग शुक्रबार, माघ ३, २०७६

अप्ठेरो दिनका पत्रकारिता

भैरव रिसाल

अप्ठेरो दिनका पत्रकारिता

राष्ट्रिय मेलमिलापको सन्देश बोकेर भारत प्रवासबाट फर्केका बीपी कोइरालाको त्यस सम्बन्धी पर्चा पढ्न नै नपाई राजनीतिक समाचार लेख्नुपर्दा कम्ता फसाद परेको थिएन।

भैरव रिसाल

सीमित स्रोत–साधन भएको बखतमा पत्रकारिता गर्दाका आफ्नै दुःख थिए । कहिले सूचनामा पहुँच नै नहुने, कहिले भने पाएको सूचना लेख्न अनेक बुद्धि घोट्नुपर्ने । राष्ट्रिय समाचार समिति (रासस) मा रिपोर्टिङ गर्दा २०३३ सालमा त्यस्तै सकस भोग्नुपरेको थियो ।

१ पुस २०१७ मा राजा महेन्द्रले सैन्य ‘कु’ गरी जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला सहित नेपाली कांग्रेसका नेताहरूलाई गिरफ्तार गरी आठ वर्षसम्म जेलमा राखेका थिए । २०२५ सालमा रिहा भएलगत्तै उनीहरू भारत प्रवासमा गए । बीपी भारतबाट फर्किन्छन् भन्नेबारे मानिसहरूमा सन्देह थियो । किनकि, उनी विरुद्ध देशद्रोहका सात वटा मुद्दा थिए ।

पञ्चहरू उनलाई फाँसी दिनुपर्छ भन्थे । तर, पञ्चहरूलाई समेत चकित पार्ने गरी आठ वर्षको प्रवास बसाइपछि ‘देश सङ्कटमा पर्न लाग्यो भनेर राष्ट्रिय मेलमिलापको नीति’ बोकेर बीपी १६ पुस २०३३ मा स्वदेश फर्किए । बीपीले जारी गरेको पर्चा काठमाडौंका विभिन्न ठाउँमा छरिएको थियो ।

त्यो वेला राजा वीरेन्द्र पश्चिमाञ्चल क्षेत्रीय विकास भ्रमणमा पोखरामा थिए । पोखरामै पश्चिमाञ्चलका पञ्चहरूको भेला थियो । भेलाको समाचार सङ्कलन गर्न गएको थिएँ । पञ्च भेलामा प्रधानमन्त्री डा.तुलसी गिरीले बीपीको पर्चाको खण्डन गर्दै राजनीतिक भाषण गरे ।

मैले भने बीपीको पर्चा पढ्न पाएकै थिइनँ । त्यसैले डा.गिरीका कुरा मरिगए बुझ्न सकिनँ । अब कसरी सही रिपोर्टिङ गर्ने ? फसाद पर्‍यो । तै आफ्नो भएभरको बुद्धि घोटेर भाषणको समाचार लेखी काठमाडौंमा राससलाई पठाउने तयारीमा थिएँ । तब खाद्य, कृषि, सिंचाइ र भूमिसुधार मन्त्री खड्गबहादुर सिंहले समाचार एकछिन नपठाउन भने । मेरो समाचार हेरेर त्यसबारे निर्णय गर्ने कुरा भएछ ।

मन्त्री सिंहले राजाको भ्रमण टोली बसेको सवारी शिविरमा मलाई बोलाए । तयार पारेको समाचार लिएर गएँ । बेलुकीको खाना समय भइसकेको थियो, शिविरका मान्छे धमाधम खाइरहेका थिए । मन्त्रीले आफ्नो अतिथिको हैसियतमा मलाई पनि खाना खुवाए । आधा घण्टापछि खबर पाएँ– समाचार तयार हुन एक घण्टा जति लाग्छ ।

साढे नौ बजेतिर समाचार आयो । शिविरमा राजाको उपस्थितिमा बीपीको पर्चाको खण्डन हुने गरी प्रधानमन्त्री गिरीको भाषण कुन शैलीमा सार्वजनिक गर्ने भनेर गम्भीर छलफल भएछ । अन्ततः मैले तयार पारेकै ढाँचामा समाचार दिनु उचित ठहर्‍याइएछ ।

मैले कुनै राजनीतिक व्यक्ति वा शक्तिको नाम नतोकी सङ्केतको भावमा डा.गिरीको भाषणको समाचार बनाएको थिएँ । समाचारमा डा.गिरीले बीपीको राष्ट्रिय मेलमिलाप प्रस्ताव औचित्यहीन छ भनेको मूल आधारलाई नै प्राथमिकता दिएको थिएँ ।

समाचार काठमाडौं पठाउँदा राति दश नै बज्यो । अन्ततः गाल भने परेन । तर, मनमा चुकचुक लागिरह्यो– बीपीको त्यो पर्चा पढ्न पाएर समाचार बनाउन सकेको भए कति उम्दा हुँदो हो !

सवारी शिविरमा राजा वीरेन्द्रको उपस्थितिमा बीपीको पर्चाको खण्डन हुने गरी प्रधानमन्त्री तुलसी गिरीको भाषण कुन शैलीमा सार्वजनिक गर्ने भनेर गम्भीर छलफल भएछ ।

जेलमा मरे राजतन्त्रलाई पिर्ने !

मेलमिलापको सन्देश सहित पटनाबाट जहाज चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका बीपी पक्राउ परे। उनी र गणेशमान सिंहलाई महाराजगञ्जको प्रहरी तालिम केन्द्रमा राखिएको थियो । जेलमा बस्दा नै क्यान्सरबाट ग्रस्त भएपछि उनलाई राजा वीरेन्द्रले उपचारका लागि अमेरिका जान दिए । उनलाई विदेश पठाउने वेलाको प्रसङ्ग पनि रोचक छ ।

बीपीको स्वास्थ्य अवस्था हेर्न दरबारले डा.मृगेन्द्रराज पाण्डे, डा.लक्ष्मीनारायण प्रसाद र डा.दिनेशनाथ गोङ्गललाई जिम्मा दिएको थियो । डा.पाण्डेलाई तत्काल बीपीलाई राम्रो ठाउँमा लगेर उपचार नगराए बचाउन सकिन्न भन्ने लागेछ । उनले राजासँग भेटेर बीपीलाई विदेश पठाउनुपर्ने सल्लाह दिएछन् । तर, राजा तयार भएनछन् ।

त्यसपछि डा.पाण्डेले फेरि भनेछन्, “बीपीले उपचारपछि अमेरिकाबाट फर्केर गर्ने राजनीतिले भन्दा उनको जेलमै मृत्यु भयो भने त्यसले राजतन्त्रलाई बढी पिर्नेछ ।”

तब राजाले प्रधानमन्त्री गिरीलाई बोलाई बीपीलाई अविलम्ब सरकारी खर्चमा अमेरिका पठाउन हुकूम दिए रे ! २०३४ सालमा बीपी अमेरिका गए । त्यतिवेला पञ्चायती सत्ता मान्छे मार्ने अभ्यास गर्दैथियो । राजामाथि बम आक्रमण गर्न खोजेको आरोपमा क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिने निर्णय गरिएको थियो ।

उनीहरूलाई पोखरामा रहेका राजासँग भेट्न लैजाने भनी झुक्याइएछ र २५ माघ २०३५ मा हेटौंडा बजार राजमार्गदेखि दायाँतर्फको जङ्गलभित्र लगी रूखमा बाँधेर गोली हानी हत्या गरिएछ । तर, त्यस्तो घटना हुँदा पनि कुनै परबाह नगरी बीपी उपचारपछि नेपाल फर्किए ।

 

प्रतिकृया दिनुहोस