जाडोमा सुप (भिडियाे सहित)
जाडोमा तातो खान्की सबैलाई प्रिय हुन्छ; त्यसमा पनि गहत, ज्वानो र जिम्बुको सुप शरीर न्यानो बनाउन साँच्चै उपयोगी मानिन्छ।
चिसो मौसममा तात्तातो खानपान । स्वादको लागि मात्र नभएर स्वास्थ्यको लागि समेत यस्तो खान्की लाभदायक हुन्छ । जाडोमा गेडागुडीको तातो झोलले न्यानो बनाउन मद्दत गर्छ नै, सँगै शरीरमा पानीको मात्रा पनि कम हुन दिंदैन । बजारमा पाइने प्याकेटका भन्दा घरमै बनाउन सकिने खाद्यान्नको सुप स्वास्थ्यबर्द्धक हुने बताउँछिन्, स्वास्थ्य प्रवर्तक (हेल्थ प्रमोटर) शारदा ज्ञवाली ।
ज्ञवालीले सुझाएका जाडोका लागि स्वादिला सुप
गहतको झोल (सुप): गाउँघरमा धेरैले हेयभाव राखेको खाद्यान्न हो, गहत । यही गहतको झोलको विशेषता भने अतुलनीय छ । गहतमा प्रशस्त फाइबर हुने भएकाले पाचन प्रणालीमा मद्दत गर्ने शारदा बताउँछिन् । गहतको दाल, सुप, पकौडा, रोटी लगायत अनेक परिकार बनाएर खान सकिने उनी बताउँछिन् । गहतमा विभिन्न किसिमका भिटामिन, फस्फोरस र पर्याप्त मात्रामा क्याल्सियम जस्ता पोषकतत्व पाइने हुनाले यसलाई निकै स्वास्थ्यवर्द्धक खान्की मानिन्छ ।
आवश्यक सामग्रीः भिजाएको गहत, तेल, जिरा, हिङ, प्याज, पिसेको लसुन–अदुवा, मसिनो गरी काटेको गोलभेंडा, नुन, बेसार, खुर्सानी, काटेको हरियो धनियाँ र पानी ।
बनाउने तरिकाः गहत अरु गेडागुडीभन्दा ढिलो पाक्ने भएकाले पकाउनुअघि ७–८ घन्टा भिजाउँदा राम्रो । प्रेसर कुकरमा थोरै तेल राखेर जिरा र हिङ फुराउने । त्यसपछि मसिनो गरी काटेको प्याज हालेर भुट्ने । प्याज हल्का खैरो भएपछि पिसेको लसुन र अदुवा हाल्ने र एक मिनेट जति अझै भुट्ने । त्यसपछि काटेको गोलभेंडा हाल्ने ।
एकछिन छोपेर सानो आँचमा गोलभेंडा गलेपछि स्वाद अनुसार नुन, बेसार, खुर्सानी राखेर केहीबेर भुट्ने । र, भिजाइएको गहत राखेर मजाले चलाउने । दुई–तीन मिनेटपछि आवश्यकता अनुसार पानी राख्ने । कुकर बन्द गरेर मध्यम आँचमा पकाउने । तीन–चार सिट्ठी लागेपछि गहत पाक्छ ।
गहतमा गाजरका स–साना टुक्रा र हरियो धनियाँ राख्दा स्वाद अझै थपिन्छ । गहतको सुपमा मासु र मौसम अनुसारको तरकारी समेत राखेर पकाउन सकिन्छ ।
ज्वानोको सुप (झोल): ज्वानो निकै उपयोगी मसला हो । ज्वानोमा प्रोटिन, आइरन, फ्याट, कार्बोहाइड्रेट, क्याल्सियम र भिटामिनहरू पाइन्छ । शरीरलाई आवश्यक पोषकतङ्खव र खनिज पदार्थहरू पाइने भएकाले बालकदेखि वृद्धसम्मका लागि ज्वानोको सुप उपयोगी छ ।
आवश्यक सामग्रीः ज्वानो, नुन, बेसार, प्याज, लसुन, अदुवा र गोलभेंडा ।
बनाउने तरिकाः सुप बनाउने भाँडामा तेल तातेपछि ज्वानो फुराउने । मसिनो गरी काटेको प्याज हाल्ने । प्याज हल्का खैरो भएपछि रुचि अनुसार मरमसला राख्ने । एक चिया चम्चा चामलको पीठो पनि राख्न सकिन्छ । पीठो हल्का खैरो भएपछि गोलभेंडा पिसेको अदुवा, लसुन राख्ने र केहीबेर पछि पानी हालेर मन्द आँचमा उमाल्ने । उम्लिएपछि तयार भयो, ज्वानोको सुप ।
जिम्बुको सुपः प्रायः दाल झान्न प्रयोग गरिने जिम्बुको सुप पनि बनाएर पिउन सकिन्छ ।
आवश्यक सामग्रीः प्याज, टमाटर, सुकेको खुर्सानी, पिसेको लसुन–अदुवा, नुन, बेसार, टिमुर र जिम्बु ।
बनाउने तरिकाः भाडामा एक चिया चम्चा तेल राख्ने, तातेको तेलमा जिम्बु फुराएर स्वाद अनुसार मरमसला राख्ने । एक चिया चम्चा मकैको पीठो राखेपछि पिसेको अदुवा लसुन र मसिनो गरी काटिएको गोलभेंडा हाल्ने । केहीबेरमा गोलभेंडा गलेपछि आवश्यक मात्रामा पानी राखेर उमाल्ने । उम्लिएपछि टिमुरको (स्वाद मनपर्नेले) धूलो राखेर जिम्बुको सुपको स्वाद लिन सकिन्छ ।
प्रस्तुतिः शुष्मा बराली