एमसीसीबारे राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर निर्णय लिनुपर्छः नेपाल
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीको विषयलाई सबै पक्षसित छलफल गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
गृहनगर रौतहटको सदरमुकाम गौरमा बिहीबार नेकपा र राजपाद्वारा संयुक्तरुपमा आयोजित अन्तक्र्रिया तथा राष्ट्रिय सभा सदस्य उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर निर्णय लिनु उचित हुने पनि बताएका हुन् ।
वरिष्ठ नेता नेपालले देशमा संघीयता तथा गणतन्त्रको लडाइँमा राजपाले पनि कठोर संघर्ष गरेको बताउँदै विगतमा पनि नेकपा र राजपाको सरकार बनेको स्पष्ट पारेका छन् ।
लोकतन्त्र आइसकेपछि नेकपाले राजेन्द्र महतो तथा अनिलकुमार झालाई मन्त्री बन्न सहयोग गरेको सन्दर्भ कोट्याउँदै वरिष्ठ नेता नेपालले नेकपा र राजपा दुवै लोकतान्त्रिक चरित्र भएको पार्टी भएकाले राष्ट्रिय सभाको निर्वाचनमा दुवै पार्टीले गठबन्धन गरेको बताएका छन् ।
दुई लोकतान्त्रिक दलबीच चुनावी तालमेल हुनु कुनै अपवित्र गठबन्धन नभएको बताउँदै वरिष्ठ नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा भएको तालमेलले देशलाई निकास दिन सहयोग पुग्ने बताएका छन् ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री रामेश्वर यादव, नेकपाको प्रदेश नम्बर २ अध्यक्ष तथा संघीय सांसद प्रभु साह, प्रदेश नं. २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनल, राज्य मन्त्री डिम्पल झा, नेकपा राजपाका सासंद, प्रदेशसभा सदस्य एवं विभिन्न नगरपालिकाका प्रमुख एवं उपप्रमुखहरु सहभागी थिए ।
सञ्जय मित्र, रौतहट