इटलीको राजधानी रोममा डिजल सवारीसाधन प्रवेशमा प्रतिबन्ध
अत्यधिक वायु प्रदूषण भएपछि इटलीको राजधानी रोममा डिजलका सावारीसाधन प्रवेशमाथि प्रतिबन्ध लगाइएको छ ।
ठूला देशका राजधानी तथा महत्वपूर्ण औद्योगिक शहरका कारण विश्वले वायु प्रदूषणको मार खेपिरहेको छ ।
रोममा पानी नपरेको र हावा पनि मन्द गतिमा चलेका कारण विगत १० दिनदेखि प्रदूषणको स्तर अत्यन्त खतरापूर्ण रहेको बताइएको छ ।
डिजलबाट चल्ने कार तथा अन्य साना ठूला सबैखाले गाडीलाई बिहानदेखि रातिसम्म शहरमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।
रोम सिटी काउन्सिलको यो निर्णयले शहरमा १० लाख सवारी साधन कम हुने बताइएको छ । काउन्सिलको यो निर्णयलाई पर्यावरण क्षेत्रका संगठनहरूले ढिला गरी उठाइएको कदम भनी टिप्पणी गरेका छन् ।
रोममा बिहान ७.३० बजेदेखि राति ८.३० बजेसम्म यो प्रतिबन्ध लागू रहने बताइएको छ ।
यसैगरी इटलीका मिलान, तुरिन, फ्लोरेन्स, पियासेन्जा, पार्मा, रेगियो, एमिला, मोडेना लगायत शहर पनि प्रदूषणको मारमा परेको बताइएको छ । ती शहरमा पनि स्थानीय प्रशासनले वाहनमाथि विभिन्न अंकुश लगाएको बताइएको छ ।
त्यहाँका तेल कम्पनीहरूले भने रोम प्रशासनले विना कुनै वैज्ञानिक आधारमा निर्णय लिएको बताएका छन् । कर्मचारी संगठनहरूले यसबाट सात लाख कार ड्राइभरको रोजगारी गुम्ने बताएका छन् ।
प्रदूषणको मार राजधानी काठमाडौंले पनि खेप्दै आएको छ । डिजल र पेट्रोलका सवारी साधन विस्थापन र विद्युतीय सवारीसाधनको प्रयोगबारे प्रक्रिया आवश्यक भइसकेको छ ।
छिमेकी भारतले पनि सन् ३०३० पछि डिजेलका सवारी साधनमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । भारतको ठूलो कार कम्पनी मारुतीले अप्रिल, २०२० देखि डिजल कारको उत्पादन बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी छिमेकी चीनले पनि सन् २०२५ सम्म डिजल कारको उत्पादन बन्द गर्ने निर्णय लिएको छ ।
जर्मनीले कयौं शहरमा अप्रिल २०१९ देखि डिजलका सवारी साधनमाथि रोक लगाएको छ । बेलायतले पनि २०४० देखि सबैखाले पेट्रोल–डिजलका सवारी साधनको उत्पादन बन्द गर्ने बताएको छ ।–एजेन्सीकाे सहयाेगमा