अमेरिका र चीनद्वारा व्यापार सहज बनाउने सम्झौता
अमेरिका र चीनबीच भइरहेकाे व्यापार युद्ध सहज बनाउन दुई देशले आर्थिक तथा व्यापारसम्बन्धी सम्झौता गरेका छन् ।
सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा दुवै देशका उच्च अधिकारीबीच बुधबार गरिएको यस सम्झौताले व्यापार युद्ध कम गर्ने बताइएकाे छ।
सो व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि चिनियाँ उपप्रधानमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य समेत रहेका लिउले उक्त सन्देश सबैभन्दा पहिला चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पठाइएको जानकारी दिएका छन्।
उपप्रधानमन्त्री लिउ चीन–अमेरिका व्यापार युद्धको समाधानका लागि बनेकाे वार्ता समितिका संयोजक समेत रहेका छन् । विगत लामो समयदेखि चलेको व्यापार युद्धका कारण विश्वकै अर्थव्यवस्थामा नकारात्मक असर परेको पनि बताइएको थियो ।
उपप्रधानमन्त्री लिउको सन्देशपछि चिनियाँ राष्ट्रपति चिनफिङले सम्झौताले चीन, अमेरिका र समग्र विश्वलाई नै राम्रो हुने धारणा राखेका छन् ।
सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग आगामी दिनमा अहिलेको भन्दा अझै राम्रो खालको सम्बन्धको विकास हुने र आफूहरुले विगतमा कुनै गल्ती गरेको भए पनि दुवै मिलेर आपसमा सच्याउने बताए ।
उनले अमेरिका र चीन मिलेर निर्माण गर्ने आर्थिक न्याय र सुरक्षित भविष्यले यी दुई देशलाई मात्र नभएर विश्वलाई नै फाइदा पुग्ने पनि बताए । यो सम्झौताले आगामी दिनमा विश्वमा थप शान्ति ल्याउने ट्रम्पले बताए।
बुधबार ह्वाइट हाउसमा गरिएको सो सम्झौता बमोजिम चीनले अमेरिकी सामानहरूको आयातलाई अहिले भन्दा बढी हुन दिने प्रतिबद्धता जनाएको छ ।
अमेरिकाले पनि चीनका केही उत्पादनहरुमा लगाइएको अतिरिक्त शुल्कमा करीब ५० प्रतिशतसम्म घटाउनका लागि चीन सरकार तयार रहेको जानकारी गराएको छ ।
गत वर्षदेखि नै अमेरिकाले कैयौँ चिनियाँ उत्पादनहरुको आयातमा रोक नै लगाएको थियो । त्यसैगरी कतिपय अत्यावश्यकीय चिनियाँ वस्तुमा पनि चीनले भारी मात्रामा अतिरिक्त शुल्क लगाउने गरेको थियो ।
चीनको यो कार्यको कडा मात्रामा विरोध गरेको अमेरिकाले त्यसको बदलामा अमेरिकाबाट आयात गरिने वस्तुहरुमा पनि सोही प्रकारको निर्णय गरेको थियो ।