पाकिस्तानमा वर्षा र हिमपातले १०० जनाको मृत्यु
पाकिस्तानका हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण एकसय भन्दा बढीको मृत्यु भएको छ ।
अत्यधिक हिमपातले हिमपहिरो तथा भूस्खलन हुँदा एकसय भन्दा बढीको मृत्यु भएको हो । हिमपातका कारण सडक यातायात र संचार सेवा प्रभावित भएका छन् ।
बलुचिस्तानका विभिन्न भागमा सोमबार भीषण हिमपात भएको थियो । हिमपातका कारण कैयौं यात्री अलपत्र परेको बताइएको छ । उच्च भूभागमा भएको हिमपातले सडक यातायात अवरुद्ध भएको छ ।
पाकिस्तानमा शीतलहरका कारण जनजीवन दुरुह बनेको समाचारमा जनाइएको छ । देशभरिमा एकसयजनाको मृत्यु भएको जनाइएको छ ।
रेडियो पाकिस्तानले जनाएअनुसार पाकिस्तानको कब्जामा रहेको कश्मीरको निलमघाटीमा बितेको २४ घण्टामा हिमपहिरोले २४ गाउँ प्रभावित भएका छन् । यसबाट ४५ घर पूर्णरुपमा नष्ट भएको जनाइएको छ । यसबाट कम्तीमा ५७ जनाको मृत्यु भएको जनाइएको छ भने कयौं हराइरहेका छन् ।
बलुचिस्तानमा भीषण हिमपात र वर्षाका कारण संकटकालको घोषणा गरिएको छ । बलुचिस्तानका साथै गिलगिट, बालटिस्तान, खैबर पख्तूनख्वामा वर्षा र हिमपात भएको छ ।
पाकिस्तानको मौसम विभागका अनुसार क्वेटामा भएको हिमपातले २० वर्षको रेकर्ड पार गरेको बताइएको छ । –एजेन्सीकाे सहयाेगमा