दिल्ली विधानसभाः आपद्वारा ७० सिटमा उम्मेदवार घोषणा, केजरीवाल नयाँ दिल्लीबाट चुनाव लड्ने
आम आदमी पार्टीले आगामी ८ फेब्रुअरीमा हुने दिल्ली विधानसभा निर्वाचनका लागि मंगलबार उम्मेदवार घोषणा गरेको छ ।
जसअन्तर्गत वर्तमान मुख्यमन्त्री तथा पार्टी अध्यक्ष अरविन्द केजरीलालले नयाँदिल्लीबाट उम्मेदवारी दिने भएका छन् भने उपमुख्यमन्त्री मनीष सिसोदिया पटपडगञ्जबाट चुनाव लड्ने बताइएको छ ।
पार्टीले वर्तमान १५ सभासदलाई टिकट नदिने भएको छ भने महिलाको उम्मेदवारी संख्या ६ बाट आठ पुर्याउने भएको छ ।
२०१९ को लोकसभा चुनाव लडेर हारेका पार्टी नेता आतिशी, राघव चड्ढा र दिलीप पाण्डे पनि आठ फेब्रुअरीमा हुने विधानसभाको चुनावमा लड्ने भएका छन् ।
सिसोदियाकी सल्लाहकार तथा दिल्लीको शिक्षा सुधारमा रणनीतिकार रहेकी आतिशी कालकाजीबाट चुनाव लड्ने छिन् । यो क्षेत्र कांग्रेसका तीन पटकका विधायक तथा कांग्रेसका दिल्ली एकाइका अध्यक्ष सुभाष चोपडाको निर्वाचन क्षेत्र हो ।
आपका अर्का वरिष्ठ नेता दिलीप पाण्डे तिमारपुरबाट चुनाव लड्ने भएका छन् । उनले गतवर्ष भाजपा दिल्ली अध्यक्ष मनोज तिवारी तथा पूर्व मुख्यमन्त्री शीला दीक्षितका सामु उत्तरपूर्वी दिल्ली लोकसभा सिटबाट निर्वाचन लडेका थिए । राघव चढ्ढालाई राजेन्द्रनगरबाट टिकट दिइएको छ भने पार्टी प्रवक्ता सौरभ भारद्वाजलाई ग्रेटर कैलाशबाट टिकट दिइएको छ ।
पार्टीले कांग्रेसबाट पार्टी प्रवेश गरेका कयौंलाई टिकट दिएको छ । जसमध्ये कांग्रेसबाट भर्खरै पार्टी प्रवेश गरेका परलसिंह साहनीलाई चाँदनी चोकबाट, शोएब इकबाल लाई मटिया महलबाट र राम सिंह नेताजीलाई बदरपुरबाट टिकट दिएको छ । पार्टीले पाँच मुस्लिम तथा २ सिख उम्मेदवार बनाएको छ ।
–एजेन्सी