अकुत सम्पत्ति आर्जनमा ४१ मेनपावर कम्पनी माथि अनुसन्धान शुरु
अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनी र तिनका सञ्चालकमाथि अनुसन्धान शुरु गरेको छ ।
वैदेशिक रोजगारीमा पठाउने नाममा अकूत सम्पत्ति जोडेको आरोप पछि सम्पत्ति अनुसन्धान शुरु गरेको हो । विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको छ ।
अनुसन्धानका क्रममा मेनपावर कम्पनीको सेयर, लागत तथा सञ्चालकहरुको विवरण उपलब्ध गराउन कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ भने आन्तरिक राजश्व विभागलाई करबारे विवरण मागिएको छ ।
उनीहरुको ब्यांक खाता उपलब्ध गराउन राष्ट्र ब्यांकलाई पत्राचार गरिएको सम्पत्ति सुद्धिकरण विभागले जनाएको छ । सँगै, कुन मेनपावर कम्पनीले कति मानिस कुन देशमा पठाएका छन् भन्ने विवरण वैदेशिक रोजगार विभागसँग मागिएको छ ।
अनुसन्धान प्रभावित हुन नदिन सञ्चालकलाई निगरानीमा राखिएको छ ।