उपसभामुखले राजीनामा दिनुपर्छः प्रवक्ता श्रेष्ठ
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् ।
लमजुङको वेँसीशहरमा प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा नेकपाले निर्णय गरिसकेकाले उपसभामुखले राजीनमा दिनुपर्ने बताए । उनले भने, “संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो । त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने अवस्था छ ।”
संविधानको मर्मअनुसार उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको हुन नसक्ने भएकाले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बताए । श्रेष्ठले भने, “उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ ।”
उनले सरकारले पहिलोे पटक लिम्पियाधुरा सहित कालापानी र लिपुलेक पनि हाम्रो भूभाग हो भनेर राज्य र सरकारका तर्फबाट आधिकारिक धारणा प्रस्तुत गरेको बताए ।