समाचार सोमबार, पुस २८, २०७६

कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार केन्द्रीय दुग्ध सहकारीलाई

हिमालखबर

कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार केन्द्रीय दुग्ध सहकारीलाई

यो वर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार केन्द्रीय दुग्ध सहकारी संघलाई दिइएको छ ।

दुग्ध विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए बापत दुग्ध सहकारीहरुको छाता संस्था केन्द्रीय दुग्ध सहकारी संघलाई यो पुरस्कार दिइएको साझा सेवा सहकारीले जनाएको छ । राष्ट्रिय सहकारी महासँघको सिफारिस तथा छनोटमा केन्द्रीय दुग्ध सहकारी संघलाई यो वर्षको पुरस्कार दिइएको हो ।

साझा सेवा सहकारीका संस्थापक कमलमणि दीक्षितको सम्झनामा स्थापित यो पुरस्कार सहकारीको क्षेत्रमा उत्कृष्ट काम गर्ने सहकारीलाई वर्षेनि दिदैं आइएको छ । यो वर्षको पुरस्कार पाए पछि दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले दुग्ध सहकारीहरुले किसानको गोठदेखि उपभोक्ताको ओठसम्म रसिलो दुध उपलब्ध गराउने काम गरिरहेको बताए ।

देशका ६२ जिल्लामा स्थापित दुग्ध सहकारीहरुले दैनिक साढे चार लाख लिटर दुध उत्पादन गर्दै आएको छ । यसबापत वार्षिक झण्डै सात अर्व रकम शहरबाट गाउँ जाने गरेको छ । दुग्ध सहकारीको तथ्याङ्कअनुसार, देशभर ७० लाख गाई र ७५ लाख भैंसीको पालिएको छ ।

राष्ट्रिय सहकारी महासँघका निवर्तमान केन्द्रीय अध्यक्ष केशव बडालले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारले देशभरका ६५ लाख सहकारीका सदस्यहरुलाई प्रोत्साहन गर्ने बताए ।

०७४ बाट शुरु भएको यो पुरस्कारको राशी रु.५० हजार रहेको छ । गत वर्ष कृषि सहकारी संस्था ललितपुरले यो पुरस्कार पाएको थियो ।

प्रतिकृया दिनुहोस